जनप्रदर्शनमा सहभागी हुन महामन्त्री राणाको आह्वान

53
0
Share:

काठमाडौं । राप्रपाका महामन्त्री तथा जनआन्दोलन परिचालन समितिका संयोजक डा. धवलशम्शेर राणाले विचार स्वतन्त्रतामा प्रतिबन्ध लगाउने सरकारको प्रयासको विरोधमा र आस्थाका बन्दीहरूको रिहाइको मागसहित जनप्रदर्शनमा सहभागिताको आह्वान गरेका छन्।

भारतमा स्वास्थ्य परीक्षण सकेर आजै स्वदेश फर्कने तयारीमा रहेका नेता राणाले भोलि वैशाख १५ गते काठमाडौँको प्रदर्शनी मार्गमा आयोजना हुने जनप्रदर्शनमा सबै राष्ट्रवादी, प्रजातन्त्रवादी, हिन्दुवादी र राजावादीहरुलाई सहभागी हुन आग्रह गरेका छन्।

‘भारतमा स्वास्थ्य परीक्षणपश्चात् आजै बेलुकी स्वदेश फर्कँदैछु, भोलि प्रदर्शनी मार्गमा भेटौँ । म पनि त्यहीँ हुनेछु,’ नेता राणाले आइतबार एक सन्देशमा भने ।

राणाले स्पष्ट इच्छा शक्ति, उच्च मनोबल, आपसी एकता र मार्गचित्रका साथ अघि बढ्नुपर्ने आवश्यकता औंल्याए। राजसंस्था र हिन्दुराष्ट्रको पक्षमा रहेका सबै दल, संघसंस्था, अभियान र समूहहरूले एकीकृत अभियानमार्फत देश बचाउने प्रयासमा हातेमालो गर्नुपर्ने उनले बताए। राणाले भने, ‘देश बचाउने र बनाउने महान् अभियानमा हातेमालो गर्दै कम्मर कसेर लागौँ । असम्भव केही छैन । मात्र इच्छाशक्ति, उच्च मनोबल, आपसी एकता र स्पष्ट मार्गचित्र आवश्यक छ ।’

‘राजसंस्था र हिन्दुराष्ट्रको निमित्त समान विचार बोक्ने दल, सङ्घसंस्था, अभियान, समूहद्वारा आयोजना हुने कार्यक्रमहरूमा साथ सहयोग रहने हाम्रो पार्टी राप्रपा र संयुक्त जनआन्दोलन समितिले पहिले नै निर्णय गरिसकेको अवस्थामा यो कार्यक्रममा सक्रिय सहभागिताको निमित्त हार्दिक अपिल गर्दछु,’ नेता राणाले सन्देशमा भने ।

Share: