नागढुंगा–नौबिसे सडक दिउँसो पनि साढे ४ घण्टा बन्द गरिने, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध

6
0
Share:

काठमाडाैं । राजधानी भित्रिने सडकमार्गको मुख्य नाका नागढुङ्गा–नौबिसे सडकखण्ड दिउँसो साढे ४ घण्टा बन्द गरेर निर्माण कार्य अघि बढाइने भएको छ ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले काठमाडौं र धादिङ जिल्ला प्रशासनसँगको समन्वयमा यही जेठ १० गतेदेखि २५ गतेसम्म बिहान १०:३० बजेदेखि दिउँसो ३ बजेसम्म उक्त सडकखण्ड बन्द गरेर काम गर्न लागिएको जानकारी दिए । यसअघि उक्त खण्डमा रातिमा बन्द गरेर काम हुँदै आएको थियो ।

आयोजनाले नागढुङ्गा–पिपलामोड सडक निर्माणका लागि यसरी सडक बन्द गर्नुपर्ने आवश्यकता रहेको जनाएपछि स्थानीय प्रशासनसँगको समन्वयमा यसरी काम गर्नका लागि अनुमति भएको उनले बताए ।

नारायणगढ–मुग्लिन सडक योजना (पूर्वी खण्ड)ले आज सूचना गरी काठमाडौँबाट जाने सवारीसाधन नागढुङ्गामा र नौबिसेतर्फबाट आउने सवारीसाधन खानीखोलामा रोकिने उल्लेख गरेको छ ।

बन्दको समयमा धार्के–सितापाइला तथा टोखा–छहरे त्रिशूली गल्छी सडक प्रयोग गर्न अनुरोध गरिएको छ ।

Share: