मनसुनजन्य विपद्का कारण २० लाख सर्वसाधारण प्रभावित हुने सरकारको प्रक्षेपण

41
0
Share:

काठमाडौं । आगामी मनसुनजन्य विपद्का कारण करिब २० लाख सर्वसाधारण प्रभावित हुने सरकारले प्रक्षेपण गरेको छ ।

गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा आज बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३२औँ बैठकले यो आँकलन गरेको हो । उक्त बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२ समेत अनुमोदन गरेको छ ।

प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले प्राधिकरणको नेतृत्वमा विभिन्न सरोकारवाला मन्त्रालय तथा विभागका प्रतिनिधि रहेको समितिले तयार गरेको कार्ययोजनामा यस वर्षको मनसुनजन्य विपद्बाट देशभर करिब ४ लाख ५७ हजार १४५ घरधुरीका १९ लाख ९७ हजार ७३१ जनसङ्ख्या प्रभावित हुने आँकलन गरिएको जानकारी दिए ।

बैठकले यो वर्षको मनसुनको पूर्वानुमान, विपद्बाट प्रभावित हुने अनुमानित केसलोड, मनुसनजन्य विपद्को पूर्वतयारी तथा प्रतिकार्यका लागि सरोकारवाला मन्त्रालय, विभाग तथा निकायको जिम्मेवारी, विषयगत क्षेत्र तथा सम्बन्धित निकायको मनसुन पूर्वतयारी र प्रतिकार्य कार्ययोजना, पूर्वतयारी र प्रतिकार्यका लागि आवश्यक सम्पर्क विवरण, सामग्रीहरुको मौज्दात तथा दक्ष जनशक्तिहरुको विवरण समेटिएको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२’ पारित गरेको केसीले जानकारी दिए ।

जल तथा मौसम विज्ञान विभागले यो वर्षको मनसुन ऋतुमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको उल्लेख गरेको छ ।

बैठकले चोभार गल्छी साँघुरो भएर गत वर्ष असोज १० गतेदेखि १३ गतेसम्म परेको अविरल वर्षाको कारण बागमती नदीमा पानीको सतह बढेर काठमाडौँ उपत्यकाका नख्खु, कुलेश्वर, थापाथली, बल्खुलगायतका भू–भागमा डुबान भएको हुँदा पुनः उक्त प्रकारको क्षति हुन नदिने सरकारको तयारी छ ।

यसका लागि नेपाली सेनाबाट सहयोग लिएर चोभार गल्छीमा रहेको अवरोध हटाउन सहरी विकास मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको छ ।

Share: