
विराटनगर । भुटानी शरणार्थी काण्डमा मुछिएर लामो समय थुनामा बसेका नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण जेलमुक्त पछि बुधबार विराटनगरको ऐतिहासिक कोइराला निवासमा पुगेका छन् ।
खाँणले मंगलबार विराटनगरस्थित कोइराला निवास कांग्रेसका लागि गुटको केन्द्र नभई साझा ‘पवित्र भूमि’ भएको बताए ।
नेता खाँणले बुधबार बिहान कोइराला निवास पुगेर पत्रकारहरूसँग कुराकानी गर्दै भने, ‘कोइराला निवास हाम्रो लागि एउटा हिसाबले पवित्र भूमि हो, कुनै धार्मिक स्थल गएको जस्तै हो । यो कुनै गुटको हिसाबले हेर्ने ठाउँ होइन ।’
उनले बीपी कोइराला, मातृकाप्रसाद कोइराला, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालालगायत नेताहरूको भावनात्मक सम्बन्ध आम नागरिकसँग रहेको र उनीहरू प्रातःस्मरणीय महामानव भएको बताए ।
पार्टी सभापति शेरबहादुर देउवालाई सफल बनाउन सबै लाग्नुपर्नेमा जोड दिँदै उनले सभापति सफल भए मात्र पार्टी सफल हुने धारणा राखे ।
उनले १४औँ महाधिवेशन पनि एक वर्ष थपेरै गरिएको स्मरण गराउँदै १५औँ महाधिवेशन पनि समयमै सम्पन्न हुने बताए । आगामी महाधिवेशनमा आफ्नो उम्मेदवारीबारे सोधिएको प्रश्नमा उनले अहिले आफू केन्द्रीय समितिमा रहेको र महाधिवेशन सम्पन्न गराउने भूमिकामा क्रियाशील रहने बताए । उनले भने, ‘नेता गुटको आधारमा होइन, मूल्य र सिद्धान्तको आधारमा चयन हुनुपर्छ। कांग्रेस गुटभन्दा माथि उठ्नुपर्छ ।’
सरकारको कामकारबाहीबारे खाँडले वर्तमान चुनावी जनादेशअनुसार कुनै पनि दलको एकल सरकार बन्न नसक्ने भएकाले गठबन्धन आवश्यक भएको बताए ।
भुटानी शरणार्थी प्रकरणमा पार्टी नेतृत्वले अपनाएको भूमिकाप्रति खाँणको गुनासो अझै बाँकी छ । उनले अनुशासन समितिको कामप्रति पनि खुलेर आलोचना गरे। ‘अनुशासन समितिले पक्षपातपूर्ण निर्णय गर्यो। प्रक्रिया पालना गरेन। यस्तो समितिले पार्टीलाई बलियो बनाउँदैन,’ उनले भने ।
बालकृष्ण खाँण २०५६ सालदेखि निरन्तर नेपाली कांग्रेसको केन्द्रीय राजनीतिमा सक्रिय छन् ।