
काठमाडौँ/नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले राष्ट्रिय सरोकारका विषयमा राष्ट्रिय सहमति आवश्यक रहेको बताउनुभएको छ ।प्रतिनिधिसभाको सोमबारको बैठकमा प्रधानमन्त्रीको विश्वासको मतको प्रस्तावको छलफलका क्रममा देउवाले देशका कतिपय राष्ट्रिय सरोकारका विषयमा सबैले साझा धारणा निर्माण गर्न आवश्यक रहेको र विषयमा राष्ट्रिय सहमति आवश्यक रहेको बताउनुभएको हो । महत्त्वपूर्ण तथा राष्ट्रिय सरोकारका विषयमा सत्ता पक्ष वा प्रतिपक्ष सबै राजनीतिक दलहरूबिच संवाद, सहमति र सहकार्यको मार्ग अवलम्बन गर्न काँग्रेसको दृढ मत रहेको उहाँले बताउनुभयो ।
उहाँले मिश्रित निर्वाचन प्रणालीका कारण कुनै एक मात्र दलले प्रतिनिधि सभामा बहुमत ल्याउन सक्ने अवस्था प्रायः नहुने भएको हुँदा गठबन्धनको संस्कृतिलाई आत्मसात गर्नुपर्ने जिकिर गर्नुभयो । देश र जनताको पक्षमा, संविधानको रक्षा गर्ने र देशमा स्थिरता, अमन चयन, शान्ति र विकासका लागि गठबन्धन केन्द्रित हुन आवश्यक रहेको उहाँले बताउनुभयो ।
उहाँले अव दलहरूको ध्यान राजनीतिक वाद विवाद र आरोप प्रत्यारोपमा मात्र केन्द्रित गर्न नहुनेमा जोड दिनुभयो । देशको बिग्रँदो आर्थिक अवस्थालाई सुधार गर्न सरकारले विशेष ध्यान दिन जरुरी रहेको उहाँले बताउनुभयो ।देउवाले अर्थतन्त्रलाई उकास्ने नीति, योजना र कार्यान्वयनको ठोस प्रतिविद्धताको आवश्यकता रहेको र शान्ति प्रक्रियाका बाँकी कामहरूलाई छिटै तार्किक निष्कर्षमा पुराउनुपर्ने बताउनुभयो ।