सुजलले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास , आजै अस्ट्रेलिया जाँदै

135
0
Share:

काठमाडौँ/राष्ट्रिय फुटबल टोलीका कप्तानसमेत रहिसकेका सुजल श्रेष्ठले नेपाल छाडेर अस्ट्रेलिया पलायन हुनुअघि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् ।सुजलसँगै नेपाली राष्ट्रिय टिमबाट खेलिसकेका रन्जित धिमाल पनि बिहीबार (आज) राति १२ बजेको उडानबाट अस्ट्रेलिया जाँदैछन् । उनीहरुले बेनी एफसीबाट अस्ट्रेलियामा स्थानीय फुटबल खेल्ने बताएका छन् ।

 

राष्ट्रिय टिमबाट सन्यास लिएको जानकारी दिँदै सुजलले आफ्नो भविष्य र साथीहरु पनि उतै रहेकाले अस्ट्रेलिया यात्रा रोजेको अनलाइनखबरसँग बताएका छन् । उनी जारी शहीद स्मारक ए डिभिजन लिगमा साविक विजेता मछिन्द्रबाट खेलिरहेका थिए ।सुजलले टिममा युवा खेलाडीको आमगनसँगै आफ्ना विदाइको सही समय भएको बताएका छन् । ‘मेरो लागि यो नै सन्याशको उपयुक्त समय जस्तो लाग्छ । टिममा क्षमतावान युवा खेलाडीहरु आइरहेका छन् । उनीहरुलाई पनि अवसर दिनुपर्छ भन्ने सोचेँ,’ अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिनुको कारणबारे सुजलले सँग भने ।तत्कालका लागि अस्ट्रेलिया गएका उनले भविष्यमा नेपाल फर्केर क्लब फुटबलमा सक्रिय हुने सम्भावनालाई भने सुजलले नकारेका छैनन् । ‘क्लबस्तरमा अझै केही समय खेल्न सक्छु । उताको परिस्थिति अनुसार निर्णय गर्नेछु,’ उनले थपे ।

 

सन् २०११ मा पोखरा रंगशालामा भएको मैत्रीपूर्ण खेलमा मिडफिल्डर सुजलले भुटानविरुद्ध डेब्यू गरेका थिए । त्यसयता उनले राष्ट्रिय टिमबाट ३७ खेलमा ३ गोल गरेका छन् । पछिल्लो समय मौरिससविरुद्ध १ फेब्रुअरी सन् २०२२ मा भएको मैत्रीपुर्ण खेलमा सुजलले गोल गरेका थिए । उनले सन् २०१६ मा नेपालले एएफसी सोलिडारिटी कपको फाइनलमा मकाउविरुद्ध गोल गरेका थिए ।

 

२०७६ मंसिरमा नेपालमै आयोजित १३औं दक्षिण एसियाली खेलकुदमा उनकै कप्तानीले नेपालले फुटबलको स्वर्ण रक्षा गरेको थियो । घरेलु फुटबलमा मनाङ मस्र्याङ्दीमा ९ वर्ष विताएर २ लिग उपाधि जिताउन माहत्वपूर्ण योगदान गरेका सुजल पछिल्लो तीन सिजनदेखि मछिन्द्रमा अनुबन्धित थिए । मछिन्द्रबाट पनि उनले दुईवटा लिग उपाधि जितेका छन् ।धनकुटामा जन्मिएका सुजलले सानैदेखि फुटबल खेल्न परिवारको साथ पाएका थिए । उनले धनकुटाबाटै यू–१२ र यू–१४ को उमेर समूहका प्रतियोगिता खेलेर २०६० सालमा एन्फा एकेडेमीमा छनोट भएका थिए ।

 

उनले नेपालका लागि यू-१४, यू–१६, यू–१९ र यू–२३ गरी सबै टिमबाट अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् । नेपालका पूर्व स्टार फुटबलर हरि खड्कालाई आफ्नो प्रेरणा मान्ने सुजलले सागमा कप्तानीको जिम्मेवारी पाउनुलाई आफ्नो करिअरकै गर्वको क्षण मानेका छन् ।

 

Share: