
काठमाडौँ/ चालु आर्थिक वर्ष भित्रै सवारी साधनको राजश्व अनलाइनबाट भुक्तानी गर्न सकिने व्यवस्था मिलाइने यातायात व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले बताएका छन्।आर्थिक पत्रकार संघ (नाफिज)ले सोमबार आयोजना गरेको सार्वजनिक सेवामा डिजिटल अर्थतन्त्रको प्रभाव अन्तरक्रियामा महानिर्देशक भट्टराईले चालु आव भित्रै सवारी साधनको राजश्व अनलाइनबाट भुक्तानी व्यवस्था मिलाउने गरी काम भइरहेको जानकारी दिए।
‘प्रदेश अनुसार सवारीको राजश्व दरहरु फरक छन्। यसले गर्दा समस्या भएको हो,’ भट्टराईले भने, ‘यो समस्या हल गर्नका लागि सिस्टममै राजश्व दरहरुलाई इन्ट्रीग्रेसर गरेर राजश्व व्यवस्थापन सूचना प्रणाली (आरआईएमएस) समायोजन गरिन्छ।’यो सिस्टम तयार हुने वित्तीकै सेवा ग्राहिले अनलाइन मार्फत सवारीको राजश्व भुक्तानी गर्न सक्ने भट्टराईको दाबी छ।
हाल बागमती प्रदेशले सवारीको राजश्व अनलाइन मार्फत भुक्तानी गर्दै आइरहेको छ। तर यो सिस्टम संघीय सरकारले तयार गरेको हैन। यसलाई बागमती प्रदेश आफैले तयार गरेको हो।
विभागले तयार गर्ने सिस्टमबाट ७ ओटै प्रदेशको सवारी राजश्व भुक्तानी गर्न सकिने गरी निर्माण गरिन्छ।यातायात व्यवस्था विभागका सूचना अधिकारी इश्वरीदत्त पनेरुका अनुसार विभागले अनलाइन मार्फत सवारीको राजश्व भुक्तानी गर्न सकिने सिस्टम पाइलट परियोजनाका रुपमा बर्दिवास यातायात सेवा कार्यालय र सुर्खेत यातायात कार्यालयबाट शुरु गरिसकेको जानकारी दिएको छ।ती कार्यालयको सेवाबाट सेवाग्राहीले प्राप्त गर्ने सुविधाका आधारमा अन्य प्रदेशमा पनि शुरु गरिने बताए।