
काठमाडौँ/सत्तारुढ गठबन्धनको साझा नीति तथा कार्यक्रम सार्वजनीकिकरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सुरु भएको छ ।कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईलगायत सत्ता गठबन्धनमा आवद्ध शीर्ष नेताहरुको सहभागिता छ । सरकारको साझा नीति तथा कार्यक्रम जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र श्रेष्ठले प्रधानमन्त्री दाहाललाई हस्तान्तरण गर्नुभएको थियो ।
सत्तारुढ गठबन्धनले सरकारले पूर्णता पाएको ६ महिनाभित्र नागरिकता ऐन ल्याउने प्रतिवद्धता जनाएको छ ।बिहीबार सत्ता गठबन्धनको न्यूनतम साझा कार्यक्रम प्रस्तुत गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले पूर्णता पाएको ६ महिनाभित्र नागरिकता ऐन पारित गर्ने घोषणा गरिन् ।
त्यस्तै नागरिकता ऐनमा लैंगिक विभेद पनि अन्त्य गर्ने विषय पनि न्यूनतम साझा कार्यक्रममा राखिएको छ ।सत्ता गठबन्धनले ६ महिनाभित्र प्रहरी समायोजन गर्ने, संघीयताको चुस्त कार्यान्वयनका लागि अधिकार सम्पन्न उच्चस्तरीय प्रशासनिक सुधार आयोग बनाउने पनि घोषणा गरेको छ ।