
काठमान्डौ/सिरहामा हात्तीको आक्रमणबाट सिरहामा शुक्रबार राति एक जनाको मृत्यु भएको छ । हात्तीको आक्रमणबाट शुक्रबार राति गोलबजार नगरपालिका–३ गोला मुक्सारका ७४ वर्षीय तुलबहादुर आले मगरको मृत्यु भएको हो ।छिमेकी घनश्याम आले मगरका अनुसार नयाँ वर्षको अवसरमा गाउँमा आयोजित नाच हेर्न जाने क्रममा राति घरनजिकै हात्तीको आक्रमणमा ७४ वर्षीय तुलबहादुर आले मगर परेका थिए ।
सिरहाको उत्तरवर्ती चुरे क्षेत्रमा अवस्थित गोला मुक्सारमा उनीसँगै छिमेकी हर्कमान राईसहित चार जना राति साढे १० बजे नाच हेर्न निस्केका थिए । घरबाट निस्कनेबित्तिकै बाटोमा जंगलबाट आएको हात्तीले आक्रमण गर्दा प्रकाश श्रेष्ठ, बमबहादुर थापासहति आफूहरुले भागेर ज्यान जोगाएको सँगै नाच हेर्न गएका हर्कमान राईले बताए । ‘वृद्ध भएकाले तुल बहादुर भाग्न सकेनन् ।
इलाका प्रहरी कार्यालय गोलबजारले हात्तीको आक्रमणबाट मृत्यु भएका ७४ वर्षीय तुलबहादुर आलेको शव पोस्टमार्टमका लागि लहानस्थित प्रादेशिक अस्पतालमा राखिएको जानकारी दिएको छ । सोही हात्तीले शुक्रबार राति गोलबजार नगरपालिका–३ बुढी जमदहका विजय पासवान, सानो र टोकन पासवानको घर भत्काएको छ । हात्तीले घर भत्काउन थालेपछि आफूहरुले भागेर ज्यान जोगाएको उनीहरुले बताए । हात्तीले अन्न नष्ट गरिदिएको छ ।
तीन महिना यतादेखि एउटा मात्र रहेको हात्ती दिनभर जंगल क्षेत्रमा बस्ने र रात परेपछि बस्ती प्रवेश गरेर दुःख दिने गरेको स्थानीयको दुखेसो छ । यसअघि सोही जंगली हात्तीको आक्रमणबाट गोलबजार नगरपालिका–३ जमदह पुरानडिहीका २२ वर्षीय देवप्रसाद सदायको गत फागुन ११ गते मृत्यु भएको थियो ।