
काठमान्डौ/नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वैशाख १० को उपनिर्वाचन परिणामले नेपाली कांग्रेसलाई सच्चिनुपर्ने सन्देश दिएको बताएका छन् । मतदाताको मनोविज्ञान बुझ्न नसकेको भन्दै उनले निर्वाचन परिणामलाई स्वीकार गरेर कांग्रेस सच्चिनुपर्ने धारणा राखेका छन् ।विराटनगर विमानस्थलमा मंगलबार पत्रकारहरुसँग कुरा गर्दै उनले मतदाताले पुराना पार्टीलाई भोट नदिएर नयाँ पार्टीलाई दिनुले युवाको चाहनाअनुसार अहिलेका पार्टीहरू नचलेको सन्देश दिएको बताए ।
युवाको भावनाअनुसार अगाडि नबढेकै कारण अहिलेको अवस्था आएको नेता कोइरालाको भनाइ छ । ‘उपनिर्वाचनको मतपरिणाम हेर्दा कांग्रेस सच्चिनु जरुरी छ । युवाहरूलाई अवसर दिँदै जिल्लादेखि टोलसम्म संगठन गर्नुपर्ने देखिएको छ,’ कोइरालाले भने, ‘मतदाताको मनोविज्ञान बुझ्न नसक्दा अहिलेको अवस्था आएको हो ।
कोइरालाले उपनिर्वाचनको मतपरिणामलाई लिएर पार्टीभित्र निर्मम समीक्षा हुने बताए । उनले हारको दोष एक जनामाथि थोपरेर अरु उम्किने अवस्था नरहेको उनको भनाइ छ ।