अधिकारीका काम र विचारलाई निरन्तरता दिन जरुरी : वरिष्ठ उपाध्यक्ष पोखरेल

137
0
Share:

काठमान्डौ/नेकपा (एमाले)का पूर्वअध्यक्ष तथा पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको २४औँ स्मृति दिवस मनाइएको छ । मनमोहन स्मृति प्रतिष्ठानले आज ललितपुरको सानेपामा गरेको स्मृति दिवसमा अधिकारीप्रति एमालेका शीर्ष नेताहरुले श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । सभामा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अधिकारीको सालिकमा माल्यार्पण गर्नुभयो ।

 

सभामा एमालेका वरिष्ठ उपाध्यक्ष तथा प्रतिष्ठानका अध्यक्ष ईश्वर पोखरेलले अधिकारीका काम र विचारलाई निरन्तरता दिन जरुरी रहेको बताउनुभयो । उहाँले राजनीतिक स्थायित्व, विकास र समृद्धिका लागि राष्ट्रिय स्वाभिमान, स्वतन्त्रता र देश बनाउने सपनाको जागरणका पक्षमा उभिनु नै अधिकारीप्रति सच्चा सम्मान हुने विचार व्यक्त गर्नुभयो ।

 

“अधिकारीका विचार, काम, आदर्श सधँै जीवित छन् । ती कुराबाट अभिप्रेरित हुँदै सधैँ हामी अगाडि बढिरहनुपर्दछ”, उहाँले भन्नुभयो । उहाँले अधिकारीका नाममा स्थापना गरिएका प्रतिष्ठान र संस्थालाई व्यवस्थितसमेत बनाउने बताउनुभयो । अधिकारी नेपालको पहिलो कम्युनिष्ट प्रधानमन्त्री बन्नुभएको थियो ।

 

अधिकारी २०५६ साल वैशाख १३ गते चुनाव प्रचारप्रसारका क्रममा हृदयघात भएर उपचारका क्रममा निधन भएको थियो । विसं २०४७ मा नेकपा (माले) र नेकपा (माक्र्सवादी) बीचको एकताबाट बनेको नेकपा (एमाले) को उहाँ अध्यक्ष बन्नुभएका थियो । मध्यावधि निर्वाचनमा कुनै पार्टीको स्पष्ट बहुमत नआएपछि सबैभन्दा ठूलो दलको हैसियतले एमालेका तर्फबाट उहाँ प्रधानमन्त्री बन्नुभएको थियो ।

 

Share: