स्वस्थ रहन के के गर्नु पर्छ ? स्वस्थ रहन ध्यान दिनुपर्ने १० तथ्यहरु ?

Share:

काठमान्डौँ/स्वस्थ शरीर नै स्वस्थ जीवनको पहिलो आधार हो ।व्यक्ति शारीरिक तथा मानसिक रुपमा हरदम स्वस्थ र तन्दुरुस्त रहन आवश्यक छ । स्वस्थ रहेमा मात्र मानिसले चाहेको कार्य गर्न सक्दछ। शरीरलाई स्वस्थ राख्न सन्तुलित आहार, नियमित व्यायाम जस्ता धेरै कुराहरुमा ध्यान दिनुपर्दछ । शरीर स्वस्थ रहेमा मात्रै मानिसले सहज तरिकाले आफनो जीवन यापन गर्न सक्दछ । स्वस्थ बन्न मानिसले तल दिएका निम्न कुराहरुमा ध्यान दिनु पर्दछ ।तलको बुदामा उल्लेखित कार्य नियमित गरेमा मानिस स्वस्थ हुन सक्दछ।

 

१. पर्याप्त पानी पिउने  : शरीरलाई स्वस्थ राख्न पर्याप्त पानी पिउँनु पर्दछ । शरीरमा पानीको मात्रा कमी हुँदा विभिन्न प्रकारका रोगहरु लाग्दछ । एउटा वयस्क मानवको शरीर ६० प्रतिशत पानीले बनेको हुन्छ र यसले मानव शरीरमा पानीको कति महत्व छ भन्ने दर्शाउँछ । त्यसैले शरीरलाई स्वस्थ राख्न एक वयस्क व्यतिले ३ लिटर पानी पिउनु पर्दछ भने बालबालिकाकाले दिनमा दुई लिटर पानी पिउनु पर्दछ । पानीको कमीले छाला सुख्खा हुनु, मुख सुक्नु, धेरै तिर्खा लाग्नु, टाउको दुख्नु, शरारको वजन बढ्नु, अपचको समस्या जस्ता विभिन्न खालका समस्याहरु शरीरमा देखा पर्दछ।

 

२. नियमित व्यायाम : शरीरलाई स्वस्थ राख्न व्यायामको अति नै आवश्यक हुन्छ । व्यायामले शरीरमा रोग प्रतिरोधक क्षमता राम्रो बनाउँन मदत गर्दछ । व्यायामले रोग सङ्ग लड्ने रोग प्रतिरोधक क्षमता वृद्धि र विकासमा मदत गर्ने हुदा , सर्ने (कम्युनिकेबल) र नसर्ने (नन कम्युनिकेबल) दुवै खालका रोगहरुसँग लड्ने क्षमता मानिसको शरीरमा प्रसस्त चाहिने हुदा दिनहु व्यायामलाई प्राथमिकतामा राख्नुपर्छ ।मसल्स सुकेर जाने, मसल्सको असन्तुलन, मसल्स टाइट भएर अप्ठ्यारोका लागि व्यायामले सुधार गर्छ । त्यसैले नियमित व्यायाम गर्नाले शरीर स्वस्थ राख्न सकिन्छ।

 

३. योग  : योगले शरीरको जोर्नीहरुलाई खुकुलो बनाउँछ । जसले गर्दा शरीरमा युरिक एसिड, बाथ जस्ता रोगहरुलाई नियन्त्रण गर्छ । यसले शरीरका रक्तसंचार प्रणालीलाई व्यवस्थित गर्नुका साथै मुटु र रगतका नलीलाई सफा गर्ने काम गर्छ । योगले हाम्रो मन र मस्तिष्कलाई सफा बनाउँने काम गर्छ । मन र मस्तिष्क स्वास्थ भएमा हरेक कुराहरु सकारात्मक रुपमा अगाडि बढ्न सकिन्छ । यसैगरी शरीरमा धेरै क्यालोरी छ भने योग गर्दा घट्छ । योगले हाम्रो पाचन क्षमता बढाउँनमा पनि सहयोग गर्दछ ।

 

४. खानपानमा ध्यान : शरीरलाई स्वस्थ राख्न खानपानको महत्वपूर्ण भूमिका हुन्छ । व्यक्ति शारीरिक तथा मानसिकरुपमा स्वस्थ र फिट रहनका लागि झोलिलो–मोलिलो पोषण युक्त पदार्थ खानु आवश्यक हुन्छ । मुख्यतः हाम्रो भान्सामा उपलब्ध हुने, दाल ,चिनी, बेसार, अदुवा, लसुन, कागती, मरिच, सुकुमेल जस्ता जडिबुटीजन्य पदार्थ खान सकिन्छ । शरीरको रोग प्रतिरोधात्मक प्रणाली मजबुत राख्नका लागि यस्ता जडिबुटी तथा पोषणयुक्त पदार्थ सेवन गर्न आवश्यक हुन्छ ।

 

५.मानसिक स्वास्थ्य : सामान्य भाषामा बुझ्दा मानसिक स्वास्थ्यलाई मनमा रहेका सोच र व्यवहारको स्वास्थ्य भनेर बुझ्न सकिन्छ । टाउकोमा लाग्ने चोट, कुपोषण, लागू औषध दव्र्यसन, जीवनका नराम्रा भोगाइ, दुर्घटना, यातना, आघात, हिंसा आदि कारणले मनका भावना, सोच र व्यवहारमा असर पुग्छ । यदि त्यस्तो असर लगातार रूपमा दुई हप्ताभन्दा बढी समय सम्म देखा परिरहेमा मानसिक स्वास्थ्य समस्या रहेको भन्न सकिन्छ । स्वस्थ जीवनयापनका लागि मानसिक रुपमा स्वस्थ रहन एकदमै आवश्यक छ । मानसिक रुपमा स्वस्थ रहन मनका कुरा साथीभाइ, आफन्त वा मन मिल्ने मान्छेसँग भन्ने बानी विकास गर्नुपर्दछ ।

 

६. नियमित स्वास्थ्य परीक्षण : मानव शरीरमा धेरै समस्याहरु देखा परिरहन्छन् । कैयौं समस्याहरू यस्ता हुन्छन्, जसले जटिलता नलिए सम्म हामीले महसुस गर्न र थाहा पाउन सक्दैनौं,जब जटिलता आउँछ तब मात्र हामी अस्पताल वा स्वास्थ्य संस्थामा पुग्छौं । जसका कारण हाम्रो ज्यानै पनि जान सक्छ । त्यसैले हाम्रो शरीरलाई पनि बेला बेलामा चेक जाँच गर्नु जरुरी छ । हामीले सम्भव भएसम्म ६–६ महिनामा वा १–१ वर्षमा शारीरिक चेकजाँच गर्नु जरुरी छ । हामीले नियमित रूपमा डायबिटिज जाँच, मुटुको जाँच, कोलस्टोरको जाँच, मिर्गौलाको जाँच र रगत जाँच भने बेला बेलामा गरि राख्नुपर्दछ ।

 

७.सरसफाइ : स्वस्थ रहन सरसफाइको ठूलो महत्व हुन्छ । उपयुक्त तरिकाले सरसफाई नभएमा मानिसमा विभिन्न रोगहरु सर्ने सम्भावना हुन्छ । व्यक्ति र परिवारमा पूर्ण रुपमा सरसफाईमा ध्यान दिन सकिएन भने पानी जन्य रोगहरु जस्तै झाडापखाला, आँउ, हैजा आदि रोगहरु लाग्न सक्दछन् । त्यस्तै हावा जन्य रोगहरु जस्तै स्वास प्रश्वास सम्बन्धी रोगहरु लाग्दछन् । त्यस्तै खानाबाट सर्ने रोगहरु जस्तै नाम्ले ,जुका र खाना अपच हुने आदि रोगहरु देखापर्दछन् ।

 

८. खानपानको उचित व्यवस्थापन : स्वस्थ शरीरका लागि खानपानको उचित व्यवस्थापन आवश्यक छ । हामीले आफनो तौल र उचाइ अनुसार खानेकुराको ब्यालेन्स मिलाउनुपर्छ । खानामा पहेँलो र हरियो खानेकुरा बढी मात्रामा खान आवश्यक हुन्छ । लामो समयसम्म पेट खाली हुदाँ ग्यास्ट्रिकको समस्या निम्तिन सक्छ । यसका साथै राति धेरै खाना खाँदा नपच्ने, मोटोपनको समस्या हुनेजस्ता समस्या देखिन्छ । माछा–मासु खाँदा ३ देखि ५ टुक्रा मात्र खानु राम्रो हुन्छ । सकेसम्म रातो मासु नखाएकै उत्तम हुन्छ । हामीले दैनिक खानामा हरियो सागपात, गेडागुडी, फलफूल खानु पर्दछ । खानापछि चिया, कफि खानु राम्रो हुदैँन ।

 

९. फलफूल र तरकारीको उचित प्रयोग : शरीरलाई स्वस्थ राख्न फलफूल र तरकारीहरू पनि महत्त्वपूर्ण हुन्छ । मानव शरीरको सर्वाङ्गीण विकासका लागि फलफूल र साग सब्जी निकै महत्वपूर्ण हुन्छ । एन्टिअक्सिडेन्ट गुणले भरिपूर्ण फलफूल र तरकारीहरूले शरीरलाई धेरै प्रकारका संक्रमण र रोगहरूबाट बचाउँछ । फलफूल र तरकारीमा प्रशस्त मात्रामा पोषक तत्व, भिटामिन र फाइबर पाइन्छ, जसले गर्दा पाचन क्रिया ठीक रहन्छ ।

 

१०. प्रशस्त आराम : शारीरिक तथा मानसिकरुपमा स्वस्थ रहनका लागि प्रशस्त आराम गर्नु आवश्यक हुन्छ । शरीरलाई स्वस्थ राख्न पर्याप्त सुत्न जरुरी छ । एक वयस्क मानिसले कम्तीमा पनि ७ घण्टा राम्रोसँग सुत्नु पर्दछ । ७ घण्टाको निद्राले मानिसको मस्तिष्कलाई स्वास्थ्य राख्छ र शारीरिक स्वास्थ्यलाई बलियो बनाउँछ । मस्तिष्कमा रहेका विषाक्ततालाई हटाउन मद्धत गर्छ ।यसले मानिसको स्मरणशक्ति बढाउँछ । यसैगरी पर्याप्त निदाउँदा हाम्रो मानसिक स्वास्थ्य पनि राम्रो बन्छ । मानिसमा रहेको चिन्ता र डिप्रेसनलाई हटाउँछ ।

 

त्यसैले स्वस्थकर जीवनका लागि राति समयमै सुत्ने राम्रो बानी हो । मानिसले समयमै सुतेर कम्तीमा पनि ७ घण्टाको निन्द्रा पूरा गर्नुपर्दछ । मानिसले ढिला सुत्ने बानी बसाल्नु हुँदैन । ढिला सुत्ने बानीले शरीरमा विभिन्न रोगहरू निम्त्याउन सक्छ ।

 

 

                                                                                                                        – लेखक : मनिषा महर्जन

Share: