वायु प्रदूषणले स्वास्थ्यमा के प्रभाव पार्छ, उपत्यकाको वायु कति सुरक्षित ?

Share:

मनिषा महर्जन :- काठमान्डौ/विश्व स्वास्थ्य संगठनका अनुसार वायु प्रदूषण भन्नाले हावामा धुवाँ, ग्याँस, धुलो, कुहिरो, बाफ जस्ता एक वा एकभन्दा बढी पदार्थ मिसिनु नै वायु प्रदुषण हो, जुन स्वास्थ्यका लागि निकै हानिकारक हुन्छ । वायु प्रदूषणका धेरै कारणहरु छन् । हालको काठमाडौँ उपत्यकाको वायुको अध्ययन गर्दा वायु प्रदूषणका प्रमुख स्रोतहरुमा निर्माण क्रियाकलापहरु, यातायात क्षेत्र, ईंटा उद्योग, सिमेन्ट, ढुङगा तथा क्रसर उद्योगहरु, फोहोरमैला व्यवस्थापन प्रणाली, र घरायसी क्रियाकलापहरु पर्दछन् ।

 

विश्व स्वास्थ्य संगठनको अनुमानमा प्रत्येक वर्ष वायु प्रदूषणका कारण विश्वभर करिब ७० लाख व्यक्तिको मृत्यु हुन्छ । यसैगरी संयुक्त राष्ट्र संघका अनुसार, हरेक १० मध्ये ९ जनाले प्रदूषित हावामा सास फेर्ने भएकाले मृत्युको एक नम्बर कारण वायु प्रदूषण बनेको छ ।

 

नेपालको संविधानले स्वच्छ वातावरणमा वाँच्न पाउनु नागरिकको मौलिक हकको रुपमा व्यवस्था गरेको त छ । तर पछिल्लो केही समय काठमाडौंमा वायु प्रदूषण निकै उच्च देखिएको छ ।

 

वायु प्रदूषणका कारण नेपालमा सन् २०१८ मा करिब ३७ हजार र हाल बर्षेनि ४२ हजार १ सयको मृत्यु हुने गरेको स्टेट अफ ग्लोबल एयरको तथ्यांकमा उल्लेख छ ।उपत्यकामा बढिरहेको शहरीकरणबाट उत्पन्न वायु प्रदूषणले मानव स्वास्थ्यमा प्रतिकुल प्रभाव पार्न थालेको छ । विभिन्न प्रदूषणहरुमध्ये वायु प्रदूषणको हिसाबबाट काठमाडौँ उच्च जोखिममा रहेको शहर बनेको छ । जिन नेपालको राजधानी समेत हो।

 

वायु प्रदुषण मापन गर्ने आईक्यू एयरकाअनुसार काठमाडौं उपत्यकाका विभिन्न स्थानको वायुको गुणस्तर गत वैशाख महिनामा एक सय पचास एक्यूआईभन्दा माथि छ । आईक्यू एयरकाअनुसार काठमाडौं उपत्यका विश्वको प्रदूषित सहरको चौथो नम्बरमा छ । काठमाडौंको एयर क्वालिटी इन्डेक्स १९१ छ । यसैगरी सबैभन्दा खराब वायु प्रदूषण रहेको सूचीको पहिलो नम्बरमा बंगलादेशको ढाका रहेको छ जसको एक्यूआई २२३ छ ।

 

विश्व स्वास्थ्य संगठन डब्लूएचओका अनुसार एक्यूआई ५० सम्मको वायुलाई स्वस्थकर मानिन्छ । योभन्दा बढी एक्यूआई रहेको वायु मानव स्वास्थ्यका लागि घातक मानिन्छ । यस्तो अवस्थामा तत्काल पानी नपरे वायु प्रदूषणको स्तर अझै बढ्दै जाने अनुसन्धानले देखाउँछ ।

 

वायु प्रदूषणले मानव स्वास्थ्यमा ठूलो असर गर्दछ । यसले श्वास–प्रश्वाससम्बन्धी जटिल रोग लाग्दछ । यसबाट दम, क्षयरोग, निमोनिया, छातीरोग, ब्रोङ्काइटिस, रुघाखोकी, एलर्जी लगायतका श्वास–प्रश्वासका रोगी र त्यसबाट हुने मृत्युदर बढ्दो छ । साथै यसले फोक्सोमा पनि नराम्रो असर गर्दछ जसमा मानिसलाई फोक्सो सम्बन्धी क्यान्सर पनि लाग्दछ ।

 

वायु प्रदूषणले हृदयघात हुने पनि देखाएको छ । यस्तैगरी वायु प्रदूषणले बालबच्चा र गर्भवती महिलालाई अझ बढी असर गर्ने गर्दछ । बालबच्चामा तौल घट्ने, मानसिक विकासमा अवरोध पुग्ने, मस्तिष्कघात, अल्जाइमर्स गराउने जस्ता घातक परिणाम देखा पर्दछ ।यसैगरी वायु प्रदूषणले आँखामा पनि निकै गम्भीर असर पर्न सक्छ ।

 

प्रदूषणका कारण आँखाबाट आँसु आइरहने, आँखा रातो हुने, चिलाउने र दुख्ने, आँखाको डिल सुन्निने जस्ता थुप्रै समस्या देखिन्छ । त्यस्तै प्रदूषणको दीर्घकालीन प्रभावले आँखाको लेन्स नै बिग्रिने र मोतीबिन्दु वा जलबिन्दु पनि हुन सक्छ ।

 

 

Share: