काठमाडौंका अधिकांश व्यावसायीक सटर, पसल र घरका कोठाहरु खाली, सरकार मुखदर्शक

354
0
Share:

प्रमिला घिसिङ:- काठमान्डौ/देशको राजधानी काठमाडौं उपत्यकाका अधिकांश भवनका सटर, कोठा खाली हुन थालेका छन् । सरकारले व्यवसायीहरुप्रति लक्षित निति तथा कार्यक्रमहरु ल्याउन नसक्दा व्यवसायीहरु आफ्नो व्यवसाय छोडेर पलायन भएका कारण उपत्यकाका व्यापारिक क्षेत्रमै सटर खाली भएका हुन् । केही समयअघि कोठा पाउन मुस्किल पर्ने काठमाडौंमा अहिले भने कोठा भाडामा लगाउन मुस्किल भएको देखिएको छ ।

 

डेरामा बस्न होस् वा व्यापार व्यवसाय गर्न सटर पाउनै मुस्किल हुने काठमाडौंमा अहिले ‘टु लेट’, ‘कोठा, फ्ल्याट खाली छ’ स्पेस एभिएबल जस्ता लेखिएका पोष्टरहरु बिजुलीको पोलदेखि घरका झ्यालहरुमा टाँसिएको देखिन्छ । २०७६ चैत अन्तिमतिर नेपालमा पहिलो पटक कोरोना देखिएको थियो । त्यसलगत्तै ४ महीना लामो बन्दाबन्दी र त्यसपछिको निषेधाज्ञाले उपत्यकामा घरहरू खाली हुन् थालेका हुन् ।

 

पछिल्लो समय कोरोना, रुष, युक्रेन युद्ध र आर्थिक मन्दिका कारण व्यापार व्यवसाय धरासायी बन्न थालेपछि व्यवसायीहरु सटर खाली गरेर विदेश पलायन भएको र अध्ययनका लागि उपत्यका आएका विद्यार्थी एवंम् अन्य कामले यहाँ रहेका नागरिकहरू गाउँ फर्किएपछि अहिले काठमान्डौ उपत्यकामा कोठा र फ्ल्याटहरू खाली भएका हुन् ।

 

पछिल्लो समय यहीँ भएकाहरू पनि कम भाडा भएको घरमा सर्ने क्रम बढेको छ । यति मात्रै होइन काठमाडौंको बसाई टुंग्याएर गाउँ फर्किनेको संख्या पनि बढेको छ । होटल, रेष्टुरेण्ट, होस्टलदेखि अधिकांश व्यवसाय गर्ने व्यवसायीले व्यवसाय नै बन्द गरेर घर खाली गराएका छन् । सरकारसँग कति घरका कोठा, सटर खाली भए भन्ने आधिकारिक तथ्याङ्क नभएपनि अहिले अधिकांश घरमा कोठा तथा सटरहरु खाली देखिन्छन् ।

 

राजधानीको व्यापारिक क्षेत्र एवम् होलसेल सामान किनमेलका लागि मानिसको अत्यधिक चाँप हुने असन, न्यूरोड, चाबहिल, सुन्धारा, बानेश्वरलगायत क्षेत्रमा अधिकांश सटर खाली हुन थालेका छन् । एकातिर दिनप्रतिदिन बढेको महंगी, आर्थिक मन्दी, उद्योग, कारकाखाना, व्यवसाय बन्द हुने क्रम बढेकाले व्यवसायीहरु सटर बन्द गर्न बाध्य भएका हुन् ।

 

ललितपुरको पुल्ञ्चोकस्थित तरकारी पसल सञ्चालन गर्दै आएकी ४४ वर्षीया जेसुन तामाङ पछिल्लो समय व्यापार ठप्प रहेको बताउँछिन् । यहाँ तरकारी पसल गरेको तीन वर्ष भयो । पहिला राम्रै व्यापार हुन्थ्यो । तर, अहिले व्यापारमा मन्दी आएको छ । व्यापारमा यही अवस्था हो भने व्यवसाय छोड्नुको विकल्प छैन’, उनले भनिन् ।

 

काठमान्डौको असनमा कपडा पसल सञ्चालन गर्दै आएकी रमा पराजुली पनि पछिल्लो समय आफूले सोचे जस्तो व्यापार हुन छाडेको बताउँछिन् । दुई सन्तानलाई राम्रो शिक्षा दिने उद्धेश्यले काठमान्डौ आएकी उनी विगत पाँच वर्षदेखि कपडा पसल सञ्चाल गर्दै आएकी छिन् । उनले त्यसबेला बैंकबाट थोरै ऋण लिएर व्यापार सुरु गरेकी थिइन् । त्यसबेला लिएको ऋण उनको लागि अहिले घाँडो भएको छ ।

 

उनी भन्छिन् ‘अहिले बैंकको ब्याजदरले बाँच्न गाह्रो बनाएको छ । बैंकको व्याज बढेर थेगिनसक्नु भएको छ । कुनै दिन त दिनभर हाई काडेर घर फर्किनुपर्छ । व्यापार भइहाले पनि सटर भाडा उठ्न समेत गाह्रो छ,’ उनले भनिन् ।

 

कहिलेकाँही पसलमा बोहनी नै नहुने उनले बताइन् । पराजुलीले व्यवसायीहरुको संरक्षणको निम्ति सरकारलेले कुनै पहल नगरेको गुणासो पोखिन् । हाल मुलुकभर करिब ३५ प्रतिशतभन्दा बढी व्यवसायिक सटरहरु बन्द भएको व्यवसायीहरु बताउँछन् । राष्ट्रिय व्यवसायी महासंघका अनुसार हाल उपत्यकामै १५ देखि २० प्रतिशत सटर खाली छन् । हाल ६० देखि ६५ प्रतिशत उद्योग, कलकारखाना मात्र सञ्चालनमा छन् ।

 

कोरोना महामारीका समयमा मारमा परेका व्यवसायीहरुलाई प्रोत्साहन गर्न राज्यले समयमै ध्यान दिन नसक्दा व्यवसायीहरु आफ्नो व्यवसाय छोडेर पलायन भएकाका हुन् । अर्थतन्त्रमा आएको गिरावटका कारण व्यापार व्यवसाय घटेको तर राज्य जिम्मेवार नहुँदा व्यवसायीहरु पलायन हुनुपर्ने अवस्थामा पुगेको व्यवसायीहरुको गुणासो छ ।

 

भाडामा बस्नेहरूको संख्या घट्दै गएपछि ऋण काढेर घर बनाएका घरधनीहरूलाई भने समस्या देखिएको छ । कोठाभाडा नै आम्दानीको मुख्य स्रोत बनाएका घरधनीहरूलाई बैंकको किस्ता तिर्न र दैनिक गुजारामा समेत समस्या देखा पर्न थालेको छ ।

Share: