बंगलादेश १४ वर्षपछि साफ च्याम्पियनसिपको सेमिफाइनलमा

287
0
Share:

काठमान्डौ/भुटानविरुद्ध ३–१ को जित निकाल्दै बंगलादेश १४ वर्षपछि साफ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । यो जितसँगै बंगलादेश समूह ‘बी’ को उपविजेताको रूपमा सेमिफाइन प्रवेश गरेको हो ।

 

बंगलादेश पछिल्लो पटक सन् २००९ मा सम्पन्न च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको थियो । त्यसयताका सबै संस्करणमा बंगलादेश समूह चरणबाटै बाहिरिएको थियो । बुधबार भारतको बेंगलुरुस्थित श्री कान्तिराभा रंगशालामा सम्पन्न खेलमा भुटानले लिएको १–० को अग्रता उल्टाउँदै बंगलादेशले जित निकालेको हो । बंगलादेशको जितमा राकिब हुसैन र सेख मोर्सालिनले समान एक गोल गरे ।

 

बंगलादेशले एक गोल भने भुटानबाट आत्मघाती उपहार पाएको थियो । भुटानका सेलथ्रिम नाम्गेलले एक गोल गरेका थिए । खेलको १२औँ मिनेटमा नाम्गेलले गोल गर्दै भुटानलाई अग्रता दिलाएका थिए । तर, भुटानको यो अग्रता लामो समय टिक्न सकेन । सेख मोर्सालिनले २२औँ मिनेटमा गोल गर्दै बंगलादेशलाई खेलमा फर्काएका थिए ।

 

३१औँ मिनेटमा भुटानका रक्षक फुन्तोसो जिग्मेबाट आत्मघाती गोल भएपछि बंगलादेशले २–१ को अग्रता बनाएको थियो । त्यसको पाँच मिनेटपछि नै रकिब हुसैनले गोल गर्दै बंगलादेशको अग्रतालाई ३–१ को सहज अवस्थामा पुर्‍याएका थिए । यसपछि दुवै टिमबाट गोल नहुँदा बंगलादेशले ३–१ को जितसहित अन्तिम चारमा स्थान पक्का गर्‍यो ।

 

बंगलादेशले अब फाइनल प्रवेशका लागि समूह ‘ए’ को विजेता कुवेतसँग खेल्नेछ । बंगलादेशसँगको हारले भुटान भने जितविहीन घर फर्किने भएको छ । समूह ‘बी’ को पुछारमा रहेको भुटान अंकविहीन बन्यो । यो समूहबाट भुटानसँगै माल्दिभ्स पनि सेमिफाइनमा पुग्न असफल रह्यो ।

 

साफ च्याम्पियनसिपको १४औँ संस्करणमा दुई आमन्त्रितसहित आठ टिम सहभागी छन् । प्रतियोगिताको समूह ‘ए’ मा घरेलु टिम भारतसँगै, नेपाल, पाकिस्तान र आमन्त्रित टोली कुवेत थिए । समूह ‘ए’ बाट नेपाल र पाकिस्तान बाहिरिसकेका छन् ।

 

यता, समूह ‘बी’ मा लेबनानसँगै बंगलादेश, माल्दिभ्स र भुटान थिए । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन ९सार्क० मा सात देश रहे पनि फिफाको प्रतिबन्धका कारण यसपटक श्रीलंका च्याम्पियनसिपमा सहभागी भएको छैन ।

Share: