Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
नवलपुरमा ८७ प्रतिशत रोपाइँ – Lekhanpeeth

नवलपुरमा ८७ प्रतिशत रोपाइँ

Share:

काठमान्डौ/नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा असार मसान्तसम्ममा ८७ प्रतिशत रोपाइँ सकिएको छ । ढिलागरी मनसुन सुरु भएकाले यसवर्ष जिल्लामा असार मसान्तसम्म गतवर्षको तुलनामा १० प्रतिशत कम रोपाइँ भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

 

उक्त केन्द्रका सूचना अधिकारी शङ्कर पौडेलले अघिल्लो वर्ष असार मसान्तसम्म ९७ प्रतिशत धान रोपाइँ सकिएको बताए । ‘लामो समयदेखिको खडेरीका कारण यो वर्ष देशैभर धान रोपाइँ ढिलो सुरु भएको थियो’ उनले भने, ‘साउन १५ गतेसम्म जिल्लाको सबै ठाउँमा धान रोपाइँ सकिने हामीले अनुमान गरेका छौँ ।’लामो समयको खडेरीका कारण समयमै धानको बीउ राख्न नपाउँदा नवलपुरमामा धान रोप्न ढिलाइ भएको छ ।

 

वैकल्पिक प्रविधि अपनाएर सिँचाइ पुगेका क्षेत्रमा असार सुरुभएसँगै रोपाइँ सुरु गरिए पनि अन्य क्षेत्रमा कुलो ढिलो सञ्चालन हुँदा र आकासे पानी नपर्दा अधिकांश खेतीयोग्य जमिनमा रोपाइँ ढिला भएको सूचना अधिकारी पौडेलको भनाइ थियो ।

 

जिल्लामा यसवर्ष १८ हजार आठ सय १६ हेक्टर जमिनमा रोपाइँ हुने अनुमान गरिएको छ । यहाँ लगाइने धानखेतीबाट प्रतिहेक्टर चार दशमलव नौ मेट्रिकटनका दरले करिब ७७ हजार मेट्रिकटन धान उत्पादन हुने अनुमान गरिएको उनको भनाइ थियो । नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)मा ६० हजार ६६७ हेक्टर खेतीयोग्य जमिन भएकामा २७ हजार ३६१ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ ।

 

‘नवलपुरमा खेतीयोग्य जमिन र सिँचाइ हुने जमिनको तुलनामा धान खेती हुने जमिन निकै नै कम छ’,सूचना अधिकारी पौडेलले भने, ‘अघिल्लो वर्ष २० हजार हेक्टर जमिनमा बर्खे धान लगाइएको थियो तर यस वर्ष बर्खे धान रोपाइँ हुने क्षेत्रफल पनि घटेको छ ।’ कृषक नगदे बालीमा आकर्षित हुनु तथा खेतमा प्लटिङ गर्ने परिपाटी बढ्दै जानाका कारण बर्खे धान लगाइने क्षेत्रफल खुम्चिँदै गएको हो । जिल्लामा सावित्री, रामधान, सावा मन्सुलीलगायत बर्खे धान लगाउने गरिएको छ ।

Share: