‘संवैधानिक सर्वाेच्चता, विधिको शासन र समाजलाई अनुशासित तुल्याऔँ’

119
0
Share:

काठमान्डौ/पूर्वसांसद मञ्च नेपालका पदाधिकारी एवं सदस्यले संवैधानिक सर्वाेच्चता, विधिको शासन र समाजलाई अनुशासित तुल्याउँदै अघि बढने वातावरण बनाउन सङ्घीय संसद् र सरकारलाई सुझाव दिएका छन् । मञ्चको २४औँ स्थापना दिवसको उपलक्ष्यमा आयोजित अन्तक्र्रियामा उहाँहरूले बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक नेपाली समाजको पहिचान र चरित्रलाई बुझेर सामाजिक सद्भाव र एकता कायम राख्ने विषयलाई विशेष ध्यान दिन आग्रह गरे ।

 

पूर्वजनप्रतिनिधिले नेपाली जनताको ठूलो बलिदानी र सङ्घर्षको उपलब्धिका रूपमा रहेको प्राप्त संविधानको रक्षा र लोकतन्त्रको सुदृढीकरणमा एकाकार हुन परिवर्तनकारी शक्तिलाई अनुरोध गरे। सो अवसरमा मञ्च कार्यवाहक अध्यक्ष झलकनाथ वाग्ले, उपाध्यक्ष गोविन्दबहादुर शाह, विष्णुबहादुर राउत, रामेश्वर राय यादवलगायतले धार्मिक सहिष्णुता र सामाजिक एकताउपर समस्या ल्याउन सक्ने गतिविधि र क्रियाकलापबाट सचेत र सर्तक रहन आम जनसमुदायसँग आह्वान गरे ।

 

उनिहरूले संविधानलाई बलियो बनाउने र सङ्घीयतालाई सुदृढ गरी कार्यान्वयन गर्ने सन्दर्भमा आउन सक्ने कतिपय चुनौतीलाई सम्बोधन गर्न आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गरेर जान सकिने बताए । मञ्चमा करिब एक हजार एक पूर्वसांसद आबद्ध रहेकामा त्यसमध्ये छ सय छ आजीवन सदस्य हुन् ।सङ्घीय संसद्को अभिन्न अङ्गका रूपमा रहेको मञ्च सबै राजनीतिक दलका पूर्वजनप्रतिनिधिका साझा संस्थाका रूपमा रहेको छ । मञ्चले संविधान र सङ्घीयता कार्यान्वयन तथा राष्ट्र र जनहितका पक्षमा बेला बखत सरकार एवं संसद्लाई राय, सुझाव र परामर्श दिँदै आएको छ ।

Share: