मंगोलियाविरुद्ध नेपाल २७३ रनले विजयी

384
0
Share:

काठमान्डौ/चीनको हान्झाउनमा जारी १९औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा नेपालले मंगोलियामाथि २ सय ७३ रनको फराकिलो जित निकालेको छ । हान्जाओमा पहिलो पटक अन्तराष्ट्रिय क्रिकेट डेब्यु गरेको मंगोलियामाथि नेपालले शानदार जित आत्मसाथ गरेको हो ।

 

नेपालले प्रस्तुत गरेको ३ सय १५ रनको लक्ष्य पछ्याएको मंगोलिया ४१ रनमा समेटिएको छ । मंगोलियाका दावासुरेन जामयान्सुरेनले १० रन बनाउनु बाहेक अन्य कुनै खेलाडीले दोहोरो अंकको स्कार छुन सकेनन् । मंगोलियाका ५ खेलाडी शून्य रनमा आउट भएका थिए भने तीन खेलाडीले मात्र १ रन जोड्न सकेका थिए । मंगोलियाका कुनै पनि खेलाडीले नेपाली बलर सामु टिक्न सकेनन् ।

 

मंगोलियालाई सस्तैमा समेट्न करन केसी, अभिनाश बोहरा, सन्दीप लामिछानेले समान दुई तथा सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले समान एक विकेट लिएका छन् । यसअघि मंगोलियाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा ३ सय १४ रन बनाएको थियो ।

 

नेपालका लागि कुशल मल्लले नकआउट १ सय ३७ रनको इनिङ्स खेले । उनले ५० बलमा ८ चौका र १२ छक्काको मदतले शानदार सतकीय पाली खेलेका हुन् । रोहित पौडेल र दिपेन्द्र सिंह ऐरीले समेत अर्धशतकीय इनिङ्स खेले ।

 

कप्तान पौडेलले २७ बलमा २ चौका र ६ छक्काको मदतले ६१ रन बनाउँदा दीपेन्द्रले १० बलमै नटआउट अर्ध शतक प्रहार गरे । दीपेन्द्रले जम्मा १० बल खेल्दै ८ छक्काको मदतले सो रन बनाएका हुन् । कुशल भुर्तेल १९ र आसिफ शेख १६ रनमा आउट भएका थिए ।

 

 

Share: