विदेशिए भलिबलका चम्किला रवि

110
0
Share:

काठमान्डौ/नेपाल भलिबल संघद्वारा गत चैत पहिलो साता काठमाडौँमा आयोजित आठौँ ‘एनभिए भलिबल च्याम्पियनसिप’का तीन स्पर्धामा रवि केसी उत्कृष्ट खेलाडी घोषित भएका थिए। गण्डकी प्रदेश टिमबाट खेलेका रविका लागि सम्भवतः उक्त प्रतियोगिता नै उनको भलिबल करिअरको अन्तिम प्रतियोगिता हुनेछ।

 

भलिबलका उदीयमान प्रतिभा रवि टिम र देशका लागि उत्कृष्ट खेल्दाखेल्दै भलिबल खेल त्याग्न विवश भएका छन्। देशभित्रका कैयन् प्रतियोगितादेखि गत वर्ष बांग्लादेशमा भएको ‘बंगबन्धु एशियन यू२३ सेन्ट्रल एशियन जोन अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’मा राष्ट्रिय टिमबाट खेलेका उनी केही दिनअघि रोजगारीका लागि जापान पुगेका हुन्।

 

तीन वर्षअघि ‘एनभिए भलिबल च्याम्पियनसिप’ खेल्दै राष्ट्रियस्तरको प्रतियोगितामा डेब्यु गरेका प्रभावशाली ओपन स्पाइकर रविले भलिबल करिअरलाई बिट मार्दै बिदेसिएका हुन्। राष्ट्रिय टिमबाट भलिबल खेल्ने सपना पूरा नभएपछि भविष्य सोचेर नयाँ बाटो तय गरेको उनले सुनाए।

 

“भलिबलमा राम्रै भइरहेको थियो, प्रतियोगिता पनि खेलिरहेको थिएँ,” २४ वर्षीय रविले भने, “राष्ट्रिय टिमबाट खेल्न पाएको भए अझै केही वर्षसम्म भलिबल खेलिन्थ्यो होला, त्यो अवस्था नभएपछि भविष्य सोचेर विदेश जाने निर्णय लिएँ।”

 

उनले राष्ट्रिय टिममा पर्न सके पुनः भलिबलमा फर्कने सोच बनाएको बताए । “केही महिनामा राष्ट्रिय टिमको छनोट हुन्छ, हेरौँ खेलाडीको सूची कसरी आउँछ,” रविले भने। गत वर्ष भलिबलको क्लोज क्याम्पमा परे पनि उनी राष्ट्रिय टिममा छनोट हुन सकेका थिएनन्। छोटो अवधिमै भलिबलमा चम्केका रवि फेरि कोर्टमा फर्केलान्/नफर्केलान् तर खेलप्रेमीले भने उनलाई पछिसम्म सम्झनेछन्।

 

बागलुङको गलकोट नगरपालिका–७ मल्ममा जन्मेका रवि कुनै औपचारिक प्रशिक्षणबिनै भलिबलमा उदाएका प्रतिभा हुन्। १४–१५ वर्षको उमेरदेखि गाउँका कुनाकन्दरामा भलिबल खेल्दै, सिक्दै अगाडि बढेका रविले देशको जर्सीमा अन्तर्राष्ट्रिय प्रतियोगितासमेत खेल्न भ्याए। गाउँठाउँमा लोकप्रिय पनि रहेको र सानैदेखि अरूले खलेको देख्दा भलिबलतिर रुचि जागेको उनले सुनाए।

 

दुई वर्षअघि बांग्लादेशको राजधानी ढाकामा भएको ‘बंगबन्धु एशियन यु–२३ सेन्ट्रल एशियन जोन अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’का खेल्न पाउनुलाई उनले करिअरकै महत्त्वपूर्ण अवसरका रूपमा सम्झन्छन्। त्यो उनले देशका लागि खेलेको एक मात्र प्रतियोगिता हो। अन्य प्रतियोगिताका सिलसिलामा भने रवि मलेसिया र हङकङ पनि पुगेका थिए।

 

“राष्ट्रिय टिमबाट देशका लागि खेल्ने ठूलो सपना थियो, तर पूरा हुन सकेन, क्लोज क्याम्पमा परेर पनि छनोटमा परिनँ,” उनले भने, “नेपाल भलिबल संघले नयाँ खेलाडीलाई पनि स्थान दिनुपर्छ।”

 

रविले नेपालमा हुने राष्ट्रियस्तरका प्रतियोगितामा राम्रो प्रदर्शन गर्दै आएका थिए। अधिकांश खेलमा उनी उत्कृष्ट खेलाडी घोषित हुन्थे। गत वर्ष पोखरामा भएको तेस्रो संस्करणको टाइगर कपमा सर्वोत्कृष्ट खेलाडीका रूपमा उनले २५ हजार रुपैयाँ र ट्रफी हात पारेका थिए। त्यसयताका प्रतियोगितामा पनि उनले सफलता जारी राखे।

 

यसै वर्ष वीरगन्ज स्मृति कप, लामाचौर कप र प्रदेशी हातेमालो सोसाइटीले हङकङमा आयोजना गरेको प्रतियोगितामा पनि उनी उत्कृष्ट खेलाडी घोषित भएका थिए। रविले हालै सुर्खेतमा भएको ३४औँ राष्ट्रिय भलिबल प्रतियोगिता र पोखरामा आयोजित चौथो टाइगर कपमा गण्डकी प्रदेश टिमबाट खेलेका थिए। उनले गलकोट भलिबल टिमबाट पनि दर्जनौँ प्रतियोगिता खेल्दै टिमलाई जित दिलाएका थिए।

 

गण्डकी प्रदेश भलिबल टिमका प्रशिक्षक रमेश केसीले हरेक प्रतियोगितामा रविले उत्कृष्ट प्रदर्शन गर्ने गरेको स्मरण गरे। उमेरले जुनियर खेलाडी भए पनि उचाइ र जम्पले केसीलाई साथ दिएको उनको भनाइ छ। “विपक्षी खेलाडीभन्दा धेरै माथिबाट रविले शक्तिबाली स्पाइक गर्न सक्छन्, उनको बलियो पक्ष भनेको हाइट र जम्प गर्न सक्ने क्षमता हो,” केसीले भने। रवि राष्ट्रिय टिममा पर्न योग्य खेलाडी रहेको उनको भनाइ छ।

 

छोटो समयमै रविले भलिबलमा आफूलाई प्रमाणित गरेका थिए। व्यावसायिक सुरक्षा र अवसरको सुनिश्चितता भए भलिबलमै समर्पित भएर लाग्ने बताउँदै आएका रविले बाध्यतावश बाटो मोड्नु परेको सुनाए। “नेपालको अवस्था पनि यस्तै छ, खेलाडीको भविष्य सुरक्षित छैन, बाध्यता र भविष्य हेरेर मैले बिदेसिनुपरेको हो,” उनले भने ।

 

अवसर पाएमा जापानमा पनि भलिबललाई निरन्तरता दिने सोचमा उनी छन्। खेल कौशल सँगसँगै अनुशासनमा पनि उनी अब्बल मानिन्छन्। भलिबलमा चम्किएका रविको बर्हिगमनलाई लिएर खेलप्रेमी भने चिन्तित छन्। उनीहरूले उदाउँदो खेल प्रतिभालाई राज्यले चिन्न नसकेको टिप्पणी गरेका छन्।

 

खेल टिप्पणीकार हेमराज हमालले उत्कृष्ट स्पाइकर रविलाई देशमा टिकाउन नसकिएकामा दुःख व्यक्त गरे। “रवि नेपालकै लागि लामो समय उत्कृष्ट स्पाइकर बन्न सक्थे, विडम्बना राम्रा खेलाडी प्रतिभाहरू नै विदेश पलायन हुनुपर्ने अवस्था छ,” उनले भने।

 

जिल्ला भलिबल संघ, बागलुङका अध्यक्ष योगेश भण्डारीले रवि नेपाली भलिबलको प्रतिभावान् खेलाडी रहेको बताए। भलिबलमा करिअर बनाएका धेरै नेपाली खेलाडी विदेश पलायन भइरहेको उनको भनाइ छ ।

 

“विभागीय टिममा पर्न सके खेलाडीलाई राम्रै छ, नत्र केही समय खेलेर बीचमै छोड्नुपर्ने अवस्था छ,” उनले भने “राज्यका निकायले पनि खेलाडी संरक्षणको नीति र योजना ल्याउन सकेका छैनन्।” राज्यले मात्रै सबै खेलाडीको व्यावसायिक सुरक्षाको सुनिश्चितता गर्न नसक्ने हुँदा कर्पोरेट क्षेत्रले पनि लगानी बढाउनुपर्ने अध्यक्ष भण्डारीले बताए।

Share: