
काठमान्डौ/लुम्बिनी प्रदेशमा बाल मृत्युदर घटेको छ । आर्थिक वर्ष २०७५-७६ मा पाँच वर्षमुनिको बाल मृत्युदर प्रतिहजार ४५ रहेकोमा हाल ३३ रहेको छ । शनिबार प्रस्तुत गरिएको बजेट वक्तव्यमा लुम्बिनीका आर्थिक मामिला तथा योजनामन्त्री चेतनारायण आचार्यले नवजात शिशु मृत्युदर प्रतिहजार ३० रहेकोमा हाल २१ मा सीमित भएको उल्लेख गरेका छन् ।
लुम्बिनीमा गरिबीको दर पनि घटेको छ । पाँच वर्षअघि ३० प्रतिशत रहेकामा हाल गरिबीको दर १८ प्रतिशतमा झरेको छ । बेरोजगारीको दर ११ प्रतिशतबाट घटेर ८ प्रतिशत पुगेको छ । पाँच वर्षअघि पाँच खर्ब ४० अर्ब रहेको कुल गार्हस्थ्य उत्पादन चालु आर्थिक वर्षमा ७ खर्ब ७८ अर्ब रुपैयाँ हुने अनुमान गरिएको छ । प्रतिव्यक्ति आय अमेरिकी डलर ८ सय तीनबाट बढेर १ हजार १ सय २६ पुगेको जनाइएको छ ।
त्यस्तै, माध्यमिक तह (कक्षा ९–१२) को कुल भर्नादर ७५ प्रतिशतबाट ८४ प्रतिशत र खुद भर्नादर ४० प्रतिशतबाट ५७ प्रतिशतमा वृद्धि भएको छ । लुम्बिनीमा सिँचाइ व्यवस्था पनि वृद्धि भएको छ । बाह्रै महिना सिञ्चित हुने भूमि २४ प्रतिशतबाट ३५ प्रतिशत पुगेको उल्लेख गरिएको छ । लुम्बिनी प्रदेश माछामासु र दूध उत्पादनमा आत्मनिर्भर भई अन्य प्रदेशमा समेत आपूर्ति भइरहेको जनाइएको छ । कुल गार्हस्थ्य उत्पादनमा औद्योगिक क्षेत्रको योगदान १४ प्रतिशत पुगेको मन्त्री आचार्यले बताए ।
२०७५ सालमा सडकको लम्बाइ ११ हजार २ सय ३३ किलोमिटर रहेकोमा हाल १५ हजार ७६ पुगेको छ । ३० मिनेटको दूरीमा पक्की सडकमा पहुँच भएको जनसंख्या ५० प्रतिशतबाट ६५ प्रतिशत पुगेको छ भने १ सय नौमध्ये १ सय आठ पालिकामा बाह्रै महिना पहुँचयोग्य सडक निर्माण भएको जनाइएको छ ।
लुम्बिनीमा विद्युत्को पहुँच पनि विस्तार भएको छ । विद्युत्मा पहुँच पुगेको जनसंख्या ८१ प्रतिशतबाट ९८ प्रतिशत पुगेको छ भने इन्टरनेटमा पहुँच भएका घरपरिवार ४९ प्रतिशतबाट ७६ प्रतिशत पुगेको उल्लेख गरिएको छ ।