बेलायतकै धनी हिन्दुजा परिवारका चार सदस्यलाई कामदार शोषण कसुरमा ४ वर्ष जेल

170
0
Share:

काठमान्डौ/आफ्नो घरका कामदारमाथि शोषण गरेको अभियोगमा बेलायतको सबैभन्दा धनी हिन्दुजा परिवारका चार सदस्यलाई अदालतले जेल सजाय सुनाएको छ ।

 

उनीहरूले जेनेभास्थित भिल्लामा काम गर्न केही व्यक्तिलाई भारतबाट बोलाएका थिए । स्वीट्जरल्यान्डस्थित अदालतले प्रकाश र कमल हिन्दुजा तथा उनीहरूका छोरा अजय र बुहारी नम्रतालाई कामदारको शोषण र अवैध तरिकाले काम दिएकामा दोषी ठहर गरेको हो ।

 

अदालतले उनीहरूलाई चारदेखि साढे चार वर्षसम्मको जेल सजाय सुनाएको छ । मानव तस्करीजस्तो गम्भीर आरोपबाट भने अदालतले उनीहरूलाई मुक्त गरिदिएको छ । कामदारले आफ्नो पासपोर्ट पनि हिन्दुजा परिवारले राखेको र कतै जान नदिएको आरोप लगाएका थिए ।

 

हिन्दुजाका वकिलले फैसलाविरुद्ध अपिल गरिने जनाएका छन् । उनीहरूका वकिल रोबर्ट असेलले भने, “फैसलाबाट म हैरान भएको छु । हामी अन्तिम अवस्थासम्म कानुनी लडाइँमा हुनेछौँ ।”

 

भारतबाट लगिएका तीन कामदारले हिन्दुजा परिवारले दैनिक १८ घण्टासम्म काम लगाएर केवल सात पाउन्ड मात्र भुक्तान गरेको आरोप लगाएका थिए । स्वीस कानुनानुसार उक्त अवधिका निम्ति कम्तीमा ७० पाउन्ड भुक्तानी गर्नुपर्थ्यो ।

Share: