असई थमन विक हत्या प्रकरणमा पूर्वसांसद यादव पक्राउ

Share:

काठमान्डौ/सशस्त्र प्रहरी बलका असई थमन विक हत्या अभियोगमा जन्मकैदको सजाय सुनाइएका पूर्वप्रदेश सांसद कौशलकुमार यादव पक्राउ परेका छन् । फरार रहेका यादवलाई शनिबार राति महोत्तरीको साम्सी गाउँपालिका ५ पोखरीभण्डाबाट पक्राउ गरेको महोत्तरी प्रहरीले जनाएको छ ।

 

उनलाई आजै जिल्ला अदालत महोत्तरीमा हाजिर गरिएको छ । लोसपाका नेतासमेत रहेका उनी लामो समयदेखि फरार थिए । उनी २०७४ मा तत्कालीन संघीय समाजवादी फोरमबाट महोत्तरी क्षेत्र नं ४ (क) मा प्रदेश सांसद निर्वाचित भएका थिए ।

 

२०७९ को निर्वाचन अघि जसपाले उनलाई पार्टीबाट निष्कासन गरेपछि लोसपाबाट चुनाव लडेका थिए । तर पराजित भए । अदालतमा मुद्दा चलिरहँदा उनी फरार नै थिए । महोत्तरी जिल्ला अदालतले २८ मंसिरमा असई थमन विक हत्या प्रकरणमा लोसपा मधेश प्रदेश संसदीय दलका नेता अभिराम शर्मासहित सात जनालाई जन्मकैदको सजाय सुनाएको थियो ।

 

एमाले प्रतिनिधि सभा सदस्य लक्ष्मी महतो र पुर्पक्षका लागि थुनामा रहेका पवन कापरले सफाइ पाएका थिए । मधेश आन्दोलनका क्रममा २५ भदौ २०७२ मा महोत्तरीमा सशस्त्र प्रहरी बलका असई थमन बिकको हत्या भएको थियो । उक्त मुद्दामा २८ साउन २०७५ मा महोत्तरी जिल्ला अदालतमा २८ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो ।

Share: