
काठमान्डौ/प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले डेडिकेटेड र ट्रंक लाइनको वक्यौता रकम असुली गर्न बाँकी रहेका व्यापारीसँग भेटेर पदको दुरुपयोग गरेको आरोप लगाएका छन् ।
डेडिकेटेड र ट्रंक लाइनको वक्यौता रकम नतिरेको भन्दै विवाद भइरहेका बेला सांसद सापकोटाले लेखा समितिका सभापति पोखरेलले डेडिकेटेड र ट्रंक लाइनको वक्यौता रकम असुली गर्न बाँकी रहेका व्यापारीसँग भेटेको आफूले सूचना पाएको दाबी गरेका हुन् । मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले सभापति पोखरेलले पदीय दुरुपयोग गर्दै विवादास्पद व्यापारीसँग भेट गरेको बताए । उनले घटनाको गम्भीरतापूर्वक छानबिन गर्न पनि सरकारसँग माग गरे ।
‘डेडिकेटेड फिडर र ट्रंक लाइनको विषयमा सार्वजनिक लेखा समितिमा बहस कायमै छ । तर, उक्त समितिका सभापति र झगडियाहरूमध्ये वक्यौतासमेत कायम रहेका एक जना व्यापारीका बीचमा रहस्यमय भेट भएको सूचना आएको छ । पदीय दुरुपयोगको यस घटनाबारे छानबिन गर्न माग गर्दछु,’ उनले । सांसद सापकोटाले दूध किसानहरूको भुक्तानी तत्काल गर्न पनि सरकारलाई सचेत गराए ।