Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
गँड्यौलापालनबाट मासिक दुई लाख आम्दानी गर्दै रिमाल – Lekhanpeeth

गँड्यौलापालनबाट मासिक दुई लाख आम्दानी गर्दै रिमाल

258
0
Share:

काठमान्डौ/गैँडाकोटका किसान गोपिचन्द्र रिमालले गँड्यौलापालनबाट मासिक दुई लाख आम्दानी गर्दै आएका छन् । तीन वर्षअघि गैँडाकोट–५ वैकुण्ठपथमा १२ वटा ब्याड निर्माण गरी गँड्यौलापालन सुरु गरेका हुन ।एक कठ्ठा क्षेत्रफलमा १२ वटा ब्याड निर्माण गरी तीन वर्षदेखि व्यावसायिक गँड्यौलापालन गर्दै आएको ६३ वर्षीय रिमालले बताए । पछिल्लो दुई महिनामा तीन लाख ६० हजार आम्दानी भएको उनले जानकारी दिए ।

 

एउटा ब्याडमा गँड्यौला राखेको दुई महिनामा मल तयार हुने भन्दै प्रतिब्याड ३० हजार आम्दानी भइरहेको रिमालले उल्लेख गरे । प्रतिब्याडमा दुई ट्याक्टर मल, श्रमिकको ज्याला, प्याकिङका लागि प्लास्टिकसहित करिब १५ हजार लागनी हुने जनाउँदै दुई महिनाभित्र प्रतिब्याडबाट १२ क्विन्टलसम्म मल उत्पादन हुने उनले गरेको उनले जानकारी दिए ।

 

रिमालका अनुसार प्रतिकिलो २५ का दरले गँड्यौलाको मल बिक्री हुन्छ । “मैले दुई किलो र पाँच किलोको ‘प्याकेट’ बनाएर प्रतिकिलो २५ का दरले बिक्री गर्दै आएको छु”, उनले भने, “त्यसबाहेक खुला मल २५ किलो र ५० किलोको बोरामा राखेर बिक्री गरिरहेको छु ।”

 

गैँडाकोटमा उत्पादित गँड्यौलाको मल जिल्लाका अधिकांश एग्रोभेट, नर्सरीमा खपत हुने गरेको भन्दै केही गोरखा, चितवनलगायत जिल्लामा समेतमा बिक्री गर्दै आएको किसान रिमालले जानकारी दिए । उत्पादन भएको एक वर्षसम्म गँड्यौलाको मलमा विभिन्न १६ प्रकारका तत्व रहने भन्दै कृषकले एक वर्षसम्म उक्त मल प्रयोग गर्न सक्ने उनले बताए ।

 

“किसानले गँड्यौलाको मलको महत्व नबुझेकाले आफैँले गाडीमा राखेर पसलमा पु-याउने गरेको छु”, रिमालले भने, “गँड्यौलापलनबाट जीविकोपार्जनमा सहज भएको छ । मेहनत गरेअनुसार आम्दानी पनि भइरहेकाले खेतबारीमा काम गर्न रमाइलो लाग्छ ।” गँड्यौलापालन भएको ठाउँमा टनेल निर्माण गरिएको भन्दै मनसुन सकिएपछि टनेल बाहिरसमेत गँड्यौला पाल्ने योजना बनाएको उनले जानकारी दिए ।

 

“अहिले हरेक १० दिनमा १२ क्विन्टल मल तयार हुने गरेको छ”, उनले भने, “उत्पादित मल प्याकिङ गरेपछि आफैले गाडीमा राखेर बिक्रीका लागि बजारमा लैजाने गरेको छु ।” पशुपालक किसानको फार्मबाट गाईको मल ल्याएर राखेको छ दिनसम्म मललाई बाहिर चिसो बनाइसकेपछि ब्याडमा राखेर त्यसमाथि गँड्यौला राखेपछि मल तयार हुने उनले उल्लेख गरे ।

 

“ब्याडमा प्लास्टिक राखेपछि त्यसमाथि बाहिर चिसो बनाएको मल मिलाएर राख्नुपर्छ”, रिमालले भने, “मल राखेपछि माथिबाट गँड्यौला राखेर जुटको बोराले छोप्नुपर्छ । बेलाबेलामा पानी छम्किँदै गएपछि मल तयार हुन सुरु हुन्छ ।” ब्याडमा मल राखेको ३० दिनपछि मल निकाल्न सुरु गरिने उल्लेख गर्दै उनले ६० दिनमा ब्याडको सबै मल निकालेर बिक्री गर्न तयार हुने जानकारी दिए ।

 

ब्याडबाट निकालिएको तयारी मललाई कृषि ज्ञान केन्द्र नवलपुरले ७५ प्रतिशत अनुदानमा दिएको मेसिनले छानेर प्याकिङ गरेपछि बजारमा पठाउँदै आएको रिमालको भनाइ छ । पोखराबाट ल्याएको तीन किलो गँड्यौलाबाट व्यावसाय सुरु गरेको स्मरण गर्दै उनले कुनै औपचारिक तालिम नलिएको जानकारी दिए ।

Share: