साफ यु-२० च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात

98
0
Share:

काठमान्डौ/घरेलु टोली नेपालले आज देखि सुरु साफ यु-२० च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ । निराजन धामीको गोल मदतमा नेपालले श्रीलंकालाई १-० ले पराजित गरेको हो । नेपालले खेफमा गोल गर्ने अन्य राम्रा अवसरहरू बनाए पनि सदुपयोग गर्न सकेन ।

 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा निराजन धामीले २४औ मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । त्यसअघि नेपालका समीर तामाङले गोल गर्ने राम्रो अवसर गुमाएका थिए । पहिलो हाफको ईन्जुरी टाइमको तेस्रो मिनेटमा श्रीलंकाका मोहमेद थिलहामले पेनाल्टी बक्स बाहिरबाट हानेको प्रहार नेपालका गोलकिवर जियारथ शेखले बचाएका थिए ।

 

दोस्रो हाफमा नेपालले गोल गर्ने राम्रो अवसर गुमाएको थियो । समीर तामाङ, अश्विन घोरासैनी र अनिल बम्जनले गोल गर्न चुकेका थिए । खेलको ईन्जूरि टाइमको पहिलो मिनेटमा नेपालका निराजन धामीको प्रहार बारमा लागेर बाहिरिएको थियो । नेपालले आफ्नो समूहको दोस्रो तथा अन्तिम खेल २२ अगष्टमा बंगलादेशसँग खेल्नेछ ।

 

त्यसअघि बांङ्लादेश र श्रीलंकाबीच खेल हुनेछ । श्रीलंका बंगलादेशसँग पराजित भएमा नेपाल एक खेल अघि नै सेमिफाइनल पुग्नेछ । च्याम्पियनसिपमा पाकिस्तान बाहेक दक्षिण एसियाको ६ टोली सहभागिता छन् । ६ टोलीलाई दुई समूहमा विभाजन गरेर खेलाइएको छ र दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् ।

Tagssports
Share: