Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
अन्नपूर्ण गाउँपालिकामा घरमै सुत्केरी हुनेको संख्या शून्य – Lekhanpeeth

अन्नपूर्ण गाउँपालिकामा घरमै सुत्केरी हुनेको संख्या शून्य

177
0
Share:

काठमान्डौ/अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा बर्थिङ सेन्टर (प्रसूतिगृह) स्थापना भएको छ । गाउँमै सहज र सुरक्षित प्रसूति सेवा उपलब्ध गराउन निलगिरिखोला हाइड्रोपावरको सहयोगमा भवन निर्माण गरेर अन्नपूर्ण गाउँपालिकाले नारच्याङ स्वास्थ्यचौकीमा प्रसूतिगृहको सेवा विस्तार गरेको हो ।

 

अन्नपूर्ण-४ नारच्याङका वडाध्यक्ष लोकबहादुर फगामीले नयाँ भवन निर्माण र आवश्यक स्वास्थ्य सामग्री व्यवस्थापन गरेर मापदण्डअनुसारको प्रसूतिगृह स्थापना गरेको जानकारी दिए। “निलगिरिखोला जलविद्युत् आयोजनाको सामाजिक उत्तरदायित्व कार्यक्रमको बजेटबाट निर्माण भएको भवनमा गाउँपालिकाले स्वास्थ्य सामग्री खरिद गरेर प्रसूतिगृह स्थापना गरेको हो”, उनले भने, “नारच्याङका महिला सुरक्षित प्रसूति सेवाका लागि गाउँ छाडेर जानुपर्ने समस्या हटाएका छौँ ।”

 

नारच्याङका गर्भवती यसअघि प्रसूति सेवाका लागि भुरुङ्ग तातोपानी स्वास्थ्यचौकी, बेनी अस्पताल र पोखराका अस्पतालमा जाने गरेका थिए । प्रसूतिगृह स्थापनाका लागि गाउँपालिकाले नारच्याङमा तालिमप्राप्त स्वास्थ्यकर्मी खटाउनुका साथै पछिल्लो कार्यपालिका बैठकले सूचीकृत गरेको थियो ।

 

प्रसूति गृहको दुई तले छकोठे भवन निर्माणका लागि निलगिरिखोला जलविद्युत् आयोजनाले रु २८ लाख ४९ हजार सात सय ३० सहयोग गरेको वडाध्यक्ष फगामीले जानकारी दिए। नारच्याङ स्वास्थ्यचौकी परिसरमा निर्माण भएको भवनको भुइँ तलामा प्रसूतिगृह स्थापना भएको छ । माथिल्लो तलाको तीन वटा कोठामा स्वास्थ्यकर्मीलाई आवासको व्यवस्था मिलाइएको छ ।

 

अन्नपूर्ण गाउँपालिकाले विनियोजन गरेको रु १० लाख बजेटबाट प्रसूतिगृह सञ्चालनका लागि आवश्यक सामग्री खरिद र जडान गरिएको स्वास्थ्य शाखा प्रमुख समुन्द्र बरुवालले बताए । आठ वटा वडा रहेको अन्नपूर्णको वडा नं १ दोवा र वडा नं ३ दानाबाहेकका स्वास्थ्यचौकीमा सुरक्षित प्रसूति सेवा उपलब्ध छ । जोखिमयुक्त प्रसूतिका कारण हुने जोखिम न्यूनीकरण गरी बच्चा र आमाको स्वास्थ्यमा सुधार ल्याउन अन्नपूर्णलाई ‘होम डेलिभरी’ शून्य बनाइएको अध्यक्ष पुनले बताए ।

 

अन्नपूर्ण गाउँपालिकामा आर्थिक वर्ष २०८०/८१ मा शतप्रतिशत ९१ जनाले सुरक्षित प्रसूति सेवा लिएका थिए । घरमै शिशु जन्माउँदा आमा र शिशुको ज्यान खतरामा पर्नुका साथै महिलाहरूमा विभिन्न समस्याले सुत्केरीपछि सताइरहने हुँदा घरमै सुत्केरी हुनेको सङ्ख्या शून्य बनाइएको हो ।

Share: