व्यावसायिक पशुपालनबाट वार्षिक १२ लाख आम्दानी

Share:

काठमान्डौ/रामपुर नगरपालिका-५ सानीअमराईका पुरुषोत्तम ढुङ्गानाले पशुपालन व्यवसायबाट वार्षिक रु १२ लाख आम्दानी गर्दै आएका छन् । उनले गाउँमा कृषिकर्मबाट स्वरोजगार बन्ने लक्ष्यसहित दुई वर्ष अघि व्यावसायिक गाईपालन सुरु गरेका छन् ।

 

ढुङ्गानाले फार्ममा अहिले ११ वटा उन्नत जातका गाई र तीन वटा भैँसी रहेका बताउँदै सात वटा गाई दुहुना रहेका जानकारी दिए। उनका अनुसार दैनिक ५० लिटर दूध उत्पादन भइरहेको छ ।

 

“घरमा पहिलेदेखि चार-पाँचवटा गाई नियमित रूपमा पालिन्थ्यो, दुई वर्ष यता भने व्यावसायिक रूपमा ‘रामपुर फार्म’ दर्ता गरी गाईभैँसी थपेर व्यवसाय विस्तार गरेको हुँ”, ढुङ्गानाले भने, “आगामी दिनमा पशुचौपाया थप गरेर फार्म आधुनिक बनाउने योजना छ, अहिले संरचना थप्ने कार्य हुँदैछ ।”

 

फार्मको रेखदेख, घाँस व्यवस्थापनलगायत कामका लागि तीन जना कामदार राखेर रोजगारीसमेत दिइरहेको ढुङ्गानाले बताए। वार्षिक रूपमा सरदरमा रु १२ लाख आम्दानी हुने गरेको बताउँदै उनले व्यवसाय सञ्चालन गर्न भारत र नवलपरासीबाट गाई खरिद गरेर ल्याएको जानकारी दिए ।

 

ढुङ्गानाले फार्ममा अहिले होलस्टिन, जर्सी जातका गाई रहेका बताए । घाँस व्यवस्थापनका लागि तीस रोपनी जग्गा भाडामा लिएको भन्दै उनले करिब २१ रोपनी जग्गामा स्टाइलो, नेपियर जातका घाँस लगाएको उल्लेख गरे ।

 

ढुङ्गानाका अनुसार एकवटा गाईलाई रु ७३ हजारदेखि रु एक लाख ३० हजार मूल्य परेको छ । गाई खरिद र फार्म व्यवस्थापनमा करिब रु ३८ लाख लगानी परेको बताउँदै उनले पाँच वटा लैनो गाई थप्ने तयारीमा रहेको जानकारी दिए ।

 

पशुपालनमा पर्याप्त घाँसपातको व्यवस्था नहुँदा चुनौती थपिएको ढुङ्गानाले बताए। पशुका लागि घाँसपात प्रशस्त आवश्यक पर्ने भएकाले घाँसपात व्यवस्थापनमा लगानी बढी खर्चिनुपरेको उनको अनुभव छ । उनले विज्ञान र ज्योतिषशास्त्रमा स्नातकोत्तर गरेका छन्। एमफिलको तयारीमा रहेका ढुङ्गाना गाउँमा बसेर केही उद्यम गर्ने लक्ष्य रहेकाले व्यावसायिक पशुपालनमा लागेका हुन् ।

 

“कसैको अधिनमा नरहेर व्यवसाय गर्ने मनसायले पशुपालन थालनी गरेको हुँ, यसबाट जीविकोपार्जन गर्न सकिने, आम्दानी पनि हुने र स्थानीयलाई रोजगारी पनि दिन सकिन्छ । घाँसपात व्यवस्थापन मिलाउन सकियो भने आम्दानी मनग्ये हुने रहेछ”, उनले भने ।

 

रामपुरको बेझाड बजारमा दूध बिक्री गर्दै आएको बताउने ढुङ्गानाले भने, “पढेर जागिर खानुपर्छ भन्ने छैन, घरमा बसेर विभिन्न व्यवसाय गरेर जीविकोपार्जन गर्न सकिन्छ, स्वरोजगार बनेर उदाहरणीय काम गर्न सकिन्छ ।”

पछिल्लो समय गाउँघरमा पशुपालनमा युवाको आकर्षण बढेको रामपुर नगरपालिकाका कृषि शाखा प्रमुख नारायणप्रसाद गैरेले बताए । नगरपालिकाले युवा स्वरोजगार कार्यक्रममार्फत प्रोत्साहनमूलक कार्यक्रम गरिरहेकाले व्यावसायिक रूपमा कृषि, पशुपालन तथा विभिन्न पेसा गर्ने युवाको उत्साह बढेको उनले उल्लेख गरे ।

Share: