दक्षिण कोरियामा तनाव : राष्ट्रपतिलाई पक्राउ गर्न घरमा पुग्यो प्रहरी

67
0
Share:

काठमान्डौ/दक्षिण कोरियाका राष्ट्रपति युन सुक-योललाई गिरफ्तार गर्न पुगेको प्रहरीको टोली उनको आवासमा छिर्ने कोसिस गरिरहेको छ । तर राष्ट्रपतिका समर्थक ठूलो संख्यामा जम्मा भएर गिरफ्तारीको विरोधमा उत्रिएका छन् ।

 

प्रेसिडेन्शियल सेक्युरिटी फोर्सले पुलिसलाई राष्ट्रपति युनसम्म पुग्न रोकिरहेको छ । युनले गत ३ डिसेम्बर राति अचानक मार्शल कानुन घोषणा गरेका थिए । त्यसपछि उक्त कदमको देशभर विरोध भएको थियो ।

 

त्यसपछि राष्ट्रपतिविरुद्ध महाभियोग लगाइएको छ। त्यही प्रकरणमा उनीविरुद्ध यही साताको सुरुमा पक्राउ पुर्जी जारी भएको थियो । युनलाई राष्ट्रपतिको शक्ति दुरुपयोग र विद्रोहका लागि जनता उकासेको मामिलामा जाँच गरिरहेका अधिकाहरूसामु पेश गर्ने तयारी थियो । उनलाई जाँच अधिकारीसामु उपस्थित हुन नोटिश पठाइए पनि जवाफ दिन इन्कार गरिदिएका थिए ।

 

यस्तो अवस्थामा करिब २० जना पुलिस अधिकारीहरूको टोली शुक्रबार उनलाई गिरफ्तार गर्न उनको घरमा पुगेको हो । राष्ट्रपतिका वकीलले भने यस्तो गैरकानुनी पक्राउ पुर्जीको कानुनी चुनौती दिइने बताएका छन् । १४ डिसेम्बरमा सांसदहरूले उनीमाथि महाभियोग लगाउन मतदान गरेका थिए । त्यसपछि राष्ट्रपतिलाई उनको जिम्मेवारीबाट निलम्बन गरिएको थियो ।

 

तर उनलाई देशको संवैधानिक अदालतको फैसलामार्फत् मात्रै हटाउन सकिन्छ । यसैबीच उत्तर कोरियाको तर्फबाट प्रतिक्रिया आएको छ । उत्तरले दक्षिण कोरियामा ‘राजनीतिक अराजकता’को स्थिति बनेको टिप्पणी गरेको छ।

Share: