ऊर्जामन्त्री खड्का र भारतीय समकक्षी खट्टरले गरे अरूण तेस्रो जलविद्युत आयोजना अवलोकन

68
0
Share:

काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काको निमन्त्रणामा दुई दिने औपचारिक भ्रमणमा नेपाल आएका भारतका विद्युत, आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टरले संखुवासभास्थित अरूण तेस्रो जलविद्युत आयोजनाको स्थलगत अवलोकन गरेका छन् ।

दुवै मन्त्रीले आयोजनाको पावर हाउस र बाँध क्षेत्रको स्थलगत निरीक्षण गर्दै निर्माणको प्रगतिबारे ठेकेदार कम्पनीसँग जानकारी लिएका थिए । सो अवसरमा आयोजना अन्तर्गतको ‘युनिट–२’ को संयुक्त रूपमा उद्घाटन गरे ।

ऊर्जामन्त्री खड्काले नेपालका लागि अरूण तेस्रो आयोजना विशेष प्राथमिकतामा रहेको भन्दै निर्माण कार्यलाई समयमै सम्पन्न गर्न निर्देशन दिए । ‘सरकारले आयोजनामा कुनै किसिमको कमी हुन दिने छैन, समयमै सम्पन्न गर्न लाग्नुहोस्,’ उनले ठेकेदार कम्पनीलाई निर्देशन दिए ।

भारतीय मन्त्री खट्टरले नेपालमा जलविद्युत विकासको अपार सम्भावना रहेको भन्दै दुवै देशले यस क्षेत्रबाट प्रत्यक्ष लाभ लिन सक्ने बताए । ‘अरूण तेस्रो समयमै सम्पन्न गर्न सके, यसले द्विपक्षीय ऊर्जा सहकार्यलाई थप सुदृढ बनाउनेछ,’ उनले भने ।

अरूण नदीमा निर्माणाधीन ९०० मेगावाट क्षमताको यो आयोजना मकालु र चिचिला गाउँपालिकाको सीमामा पर्दछ । एक खर्ब चार अर्ब लागतको आयोजना भारतीय सरकारी कम्पनी सतलज हाइड्रोपावरले निर्माण गरिरहेको हो। निर्माण कार्य पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

मन्त्री खट्टर भ्रमणका क्रममा आज साँझ काठमाडौंमा लम्की–बरेली र इनरुवा–पूर्णिया अन्तर्देशीय प्रसारण लाइन निर्माणसम्बन्धी सम्झौता कार्यक्रममा समेत सहभागी हुनेछन् । नेपाल–भारत संयुक्त लगानीमा निर्माण हुने यी प्रसारण संरचनाले दुवै देशको ऊर्जा व्यापारलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।

बुधबार भारतीय मन्त्री खट्टरले मुस्ताङको मुक्तिनाथ मन्दिर र पशुपतिनाथको दर्शन गर्ने कार्यक्रम रहेको छ ।

Share: