बलेको बत्तीमुनि बसेर पोस्ट लेख्दै ‘बिजुली गयो’ भन्ने न्यारेटिभ बनाइँदैछ : विष्णु रिमाल

34
0
Share:

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य काममा काबिल रहेको बताएका छन् ।

आइतबार सामाजिक सञ्जाल फेसबुकमा एक टिप्पणी लेख्दै उनले हितेन्द्र प्राधिकरणलाई कसरी प्रगतिमा पुर्‍याउन सकिन्छ भन्नेमा इमान्दार रहेको पनि बताएका छन् । तर, बलेको बत्तीमुनि बसेर पोस्ट लेख्दै ‘बिजुली गयो’ भन्ने न्यारेटिभ बनाइएको उनको भनाइ छ ।

यसमा सजग हुन रिमालले शाक्यलाई अनुरोध गरेका छन् । बिजुली कसरी आयो थाहा नपाई, बिजुली ल्याइदिने देवता खडा गर्ने समाज हो यो । देवत्वकरणको पर्दाभित्र कस्तो यथार्थ लुकेको छ भन्ने कुरा सामाजिक सञ्जालमा न्यारेटिभ निर्माणमा खटाइएका व्यवसायीलाई थाहा छ, तर उनीहरू समाजमा त्यस विपरीत गहिरो भ्रम छरिरहेका छन् ।

समाजलाई कामको प्रतिफल दिने होइन, न्यारेटिभको अँध्यारो छायाँमुनि राखेर आफ्नो दुनो सोझ्याउने गिरोह सक्रिय छ।’अहिले समाजमा सेवा दिनेहरू होइन, कथा बनाउनेहरू चर्चामा रहेका रिमालको टिप्पणी छ ।

यस्तो बेलामा शाक्यले इमान्दार प्रयास गर्दा पनि, त्यो ‘फिड’मा नदेखिने उनले उल्लेख गरेका छन् । किनकी त्यो ‘फ्रेम’को हिस्सा होइन । त्यसैले, सजग रहनुस्-काम गर्नुस्, तर ध्यान दिनुस्- कामभन्दा पनि कथा ठूलो भएको युगमा कथा लेख्नेहरू तपाईंको कामभन्दा अघि पुग्न सक्छन्’, रिमालले थपेका छन्, ‘कर्ममा अडिग रहनुहोस्, तर ‘कन्टेन्ट’को दुनियाँले तपाईंलाई ‘कन्टेन्ट’ बनाउने खेलमा लागेको छ भन्ने कुरा नबिर्सिनुहोस् ।’

Share: