क्रिकेट टोलीका तीन जना खेलाडीलाई जनही ५० हजार नगद सहित सम्मान

143
0
Share:

काठमाडौँ/रूपन्देहीको तिलोत्तम नगरपालिकाले राष्ट्रिय क्रिकेट टोलीका तीन जना खेलाडीलाई नगदसहित सम्मान गरेको छ ।आईसीसी विश्वकप लिग-२ मा उत्कृष्ट खेल प्रदर्शन गरेका ओपनर ब्याटम्यान कुशल भुर्तेल, राष्ट्रिय टोलीमा सहभागी मौसम ढकाल तथा यू-१९ क्रिकेटका क्याप्टेन देव खनाललाई जनही ५० हजार नगदसहित सम्मान गरिएको हो ।

 

दुई राष्ट्रिय खेलाडी सम्मिलित सिनियर टोलीले विश्व कप छनोट खेल्न पाउने भएको छ भने यू-१९ का क्याप्टेन खनालले टीमलाई जीत दिलाउँदै सन् २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकपमा छनोट गराउन सफल भएका छन् ।खेलाडीहरुलाई तिलोत्तमाका मेयर रामकृष्ण खाण, उपमेयर जगेश्वरदेवी चौधरी तथा प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले संयुक्त रुपमा टीका, माला तथा प्रशंसापत्रसहित नगद पुरस्कारले सम्मान गरे ।

 

उक्त अवसरमा मेयर खाणले तिलोत्तमालाई क्रिकेटको हबको रुपमा विकास गर्न सकिने सम्भावना रहेको उल्लेख गरे । आफ्नो स्रोत र साधनले भ्याएसम्म तिलोत्तमाले खेलकुदको क्षेत्रमा लगानी गरेको उनले बताए ।उपमेयर चौधरीले खेलाडीहरुले नेपालसँगै तिलोत्तमालाई विशेष रुपमा पहिचान प्रदान गर्न सफल भएको उल्लेख गरिन् ।

 

खेलाडी उत्पादन गर्न तिलोत्तमा नगरपालिकाले आवश्यक पहल जारी राखेको उनको भनाइ छ ।सम्मानित राष्ट्रिय क्रिकेट खेलाडी भुर्तेलले सबैको साथ र समर्थनले नै आफू र आफ्नो टीमले सफलता हात पारेको उल्लेख गरे ।

 

 

Share: