एसीसी मेन्स प्रिमियर कप : नेपाल फाइनलमा प्रवेश

206
0
Share:

काठमान्डौ/नेपाल एसियन क्रिकेट काउन्सिल (एसीसी) प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार जारी नेपाल र कुवेतबीचको सेमिफाइनल खेल वर्षाको कारण रोकिँदा नेपाल समूह ‘ए’को विजेताको रुपमा सिधैं फाइनलमा प्रवेश गरेको हो ।

 

बिहान ९ बजेदेखि सुरु भएको प्रतिस्पर्धा वर्षाको कारण दुई पटकसम्म रोकिएको थियो। साँझ ५ बजेसम्म पनि वर्षा नरोकिँदा नेपाल डिएलएस मेथडका आधारमा सिधैं फाइनल पुगेको हो । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पूरा ४२ ओभर खेलेर अल आउट हुँदै २ सय ८१ रन बनाएको थियो। वर्षाले प्रभावित भएपछि खेल ४२ ओभरमा झारिएको थियो ।

 

नेपालको लागि कप्तान रोहितकुमार पौडेल र कुशल मल्लले अर्धशतकीय इनिङ खेले । कप्तान पौडेलले ९३ रन बनाउँदा मल्लले ५७ रन प्रहार गरे। भने, अन्य खेलाडीले पनि उत्कृष्ट प्रदर्शन गरेका थिए । उक्त लक्ष्य पछ्याएको कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाउँदै ३७ रन मात्रै बनाएर खेलिरहेका बेला वर्षाको कारण खेल रोकिएको थियो । कुवेतका कुनै पनि ब्याट्स म्यानले दोहोरो अंक जोड्न सकेनन् । नेपालका करण केसी एक्लैले ५ विकेट लिए । अब नेपालले युएई र ओमानबीचको विजेता टिमसँग सोमबार उपाधिको लागि प्रतिस्पर्धा गर्नेछ । उपाधि जित्ने टिम आगामी सेप्टेम्बरमा हुने एसियन कपको लागि छनोट हुनेछ ।

Share: