आफूले काम गर्ने ज्वेलर्सका साहुले गरेको बदमासीपछि जेल जीवन बिताइरहेका लालबहादुर जेलमुक्त

430
0
Share:

काठमान्डौ/सुनसरी इटहरीका लालबहादुर विश्वकर्मा बुधबार जेलमुक्त भएका छन् । आफूले काम गर्ने ज्वेलर्सका साहुले गरेको बदमासीको बोझ आफ्नो टाउकोमा आइलागेपछि जेल जीवन बिताइरहेका विश्वकर्मा उच्च अदालत विराटनगरले सफाई दिएसँगै जेलमुक्त भएका हुन् ।

 

उनले ठगी तथा बैंकिङ कसुर मुद्दामा मङ्गलवार सफाइ पाएका थिए । मङ्गलवार उच्च अदालतका न्यायाधीशद्वय विपुल न्यौपाने र मिलनकुमार राईको संयुक्त इजलासले सुनसरी जिल्ला अदालतको आदेश उल्ट्याउँदै सफाइ दिएपछि उनी रिहा भएका हुन् ।

 

बुधबार उनी जेलबाहिर निस्कँदा परिवार, आफन्तजन तथा शुभचिन्तकहरूले स्वागत गर्दै खुसीयाली बनाएका थिए । सुनसरीको इटहरी तरहरास्थित सिंहदेवी ज्वेलर्समा कामदारको रूपमा कार्यरत लालबहादुरलाई मालिक दीपक परियारले गरेको ठगीमा जिल्ला अदालत सुनसरीले ३ करोडभन्दा बढी रकम बिगो भराउन आदेश दिएको थियो। निर्दोष रहेपनि उनलाई ३ वर्षको जेल सजाय तोकिएको थियो ।

 

जिल्लाले गरेको फैसलाविरुद्ध आफू निर्दोष रहेको बताउँदै विक उच्च अदालत गएका थिए । उच्चले जिल्ला अदालत सुनसरीको आदेश उल्ट्याएर उनलाई थुनामुक्त गरेको हो । छोरालाई लिन लालबहादुरका ७० वर्षीय बुवा हर्कबहादुर र ६८ वर्षीया आमा सीता पनि झुम्का कारागार पुगेका थिए । पत्नी दिलकुमारी र उनका अन्य आफन्तले फूलमाला र अबिर लगाएर उनको स्वागत गरेका थिए ।

Share: