Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
निःशुल्क कृत्रिम हातखुट्टा प्रत्यारोपण शिविर – Lekhanpeeth

निःशुल्क कृत्रिम हातखुट्टा प्रत्यारोपण शिविर

Share:

काठमान्डौ/सिरहाको लहानमा अपाङ्गता भएका व्यक्तिका लागि निःशुल्क रुपमा कृत्रिम हातखुट्टा प्रत्यारोपण शिविर सञ्चालन हुने भएको छ । यही भदौ २४ गते लहान–७ स्थित मारवाडी सेवा सदनमा कृत्रिम अङ्ग प्रत्यारोपणका लागि नापजाँच शिविर सञ्चालन गरिने राष्ट्रिय मारवाडी युवा मञ्चले जनाएको छ ।

 

सामाजिक उत्तरदायित्वस्वरुप यस प्रकारको कार्यक्रम सञ्चानल गर्न लागिएको मञ्चका अध्यक्ष राहुल सार्दाले बताए । ‘सेवा नै धर्म हो’ भन्ने भावनाले समयसमयमा सामाजिक क्षेत्रमा काम गर्दै आएका उनले बताए । ‘पहिलो पटक अपाङ्गता भएका व्यक्तिहरुका लागि शिविर सञ्चालन गर्दैछौँ’, सार्दाले भने, ‘के कस्तो प्रतिक्रिया आउँछ, हेरेर आगामी वर्षहरुमा निरन्तरता दिनेछौँ ।’

 

उनका अनुसार शिविरमा नारायण सेवा संस्थानबाट आएका प्रतिनिधिले शारीरिक रूपमा अस्वस्थ (हातखुट्टा नभएका) व्यक्तिको कृत्रिम अङ्ग निर्माण तथा प्रत्यारोपणका लागि नापजाँच गर्ने छन् । ‘नापजाँच पछि छिमेकी राष्ट्र भारतमा कृत्रिम अङ्ग निर्माण हुनेछ’, सार्दाले भने, ‘त्यसका लागि डेढ–दुई महिना लाग्नेछ । कृत्रिम अङ्ग निर्माणपश्चात् प्रत्यारोपणको तयारी गरिने छ ।’

 

उक्त शिविरमा करिब दुई सय अपाङ्गता भएका व्यक्तिले लाभ लिन सक्ने अनुमान गरिएको आयोजकले जनाएको छ । यस कार्यबाट शारीरिक रुपमा हातखुट्टा नभएका व्यक्तिलाई राहत पुग्ने अपाङ्गता पुनःस्थापना केन्द्र लहानका अध्यक्ष सञ्जय अग्रवालले बताए ।

Share: