माल्दिभ्सलाई पराजित गर्दै नेपाल क्वाटरफाइनलमा

316
0
Share:

काठमान्डौ/नेपाल १९औँ एशियन गेम्सको क्रिकेट अन्तर्गत क्वाटरफाइनलमा पुगेको छ । समूह चरणको खेलमा आज मालदिभ्सलाई १३८ रनले पराजित गर्दै नेपालले क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

 

नेपालले दिएको २१३ रनको लक्ष्य पछाएको मालदिभ्सले १९।४ ओभरमा अलआउट हुँदै ७४ रन बनाएको थियो । माल्दिभ्सविरुद्ध नेपाली बलर अविनाश बोहोराले सर्वाधिक ६ विकेट लिएका थिए । अविनाशले ३.४ ओभरमा ११ रन दिएर ६ विकेट लिएका थिए ।

 

कुशल भुर्तेल, सोमपाल कामी, सन्दीप लामिछाने र गुलशन झाले एक एक विकेट लिएका थिए । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै २१२ रन बनाएको थियो ।

 

क्वाटरफाइनलमा पाँच टेस्ट टोली भारत, पाकिस्तान, बंगलादेश, अफगानिस्तान र श्रीलंकाले सोझै मौका पाएको थिए । समूह सी बाट मलेसिया क्वाटरफाइनलमा आएको छ । समूह बी बाट आज जापान र हङकङबीच प्रतिस्पर्धा हुँदैछ । उक्त खेलको विजेता टोली क्वाटरफाइनलमा आउनेछ ।

 

क्वाटरफाइनलको ड्र सोमबार हुनेछ । क्वाटरफाइनलका खेलहरु मंगलबार र बुधबार हुनेछन् । शुक्रबार सेमिफाइनल र फाइनल शनिबार हुनेछ ।

Share: