
काठमान्डौ/क्यानडाको सबैभन्दा ठूलो शहर टोरन्टोमा शुक्रबार दिउँसो भएको विवादका क्रममा एक प्रहरी अधिकारीमाथि छुरा प्रहार भएको छ । टोरन्टो प्रहरीका अनुसार कलेज स्ट्रिट र ल्यान्सडाउन एभिन्यूको क्षेत्रमा रहेको एक व्यवसायिक भवनको पार्किङ स्थलमा स्थानीय समयअनुसार दिउँसो १ः३३ बजे उक्त घटना भएको हो ।
सीटीभी न्यूजले प्राप्त गरेको भिडियोमा अधिकारीहरू पार्किङ गरिएका दुई कारको बीचमा भुइँमा आक्रमणकारी भनिएका एक व्यक्तिलाई नियन्त्रणमा लिन सङ्घर्ष गरिरहेको देखिन्छ । दुई सुरक्षा अधिकारीले आक्रमणकारीतर्फ आफ्नो हतियार े ताकेको र त्यसको केही समयमा नै त्यो व्यक्ति भुइँमा ढेलेको देख्न सकिन्छ ।
झडपमा घाइते प्रहरी र संदिग्ध दुवैको अवस्था स्थिर रहेको र अस्पतालमा उपचार भइरहेको छ । टोरन्टोका नगर प्रमुख ओलिभिया चाउका अनुसार यो हप्ता टोरन्टोका तीन जना प्रहरी अधिकारी घाइते भएका छन् । चाउले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, ‘हिंसा कदापि स्वीकार्य हुँदैन ।”
प्रहरीमाथिको आक्रमणपछि उक्त क्षेत्रका सडकहरू अवरुद्ध भएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।