एमाले–माओवादी समीकरण किन भत्कियो भन्दै मा‌‍ओवादी सांसदले मागे ओलीसँग जवाफ

80
0
Share:

काठमान्डौ/नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले एमाले–माओवादी केन्द्रको समीकरण भत्किनुका कारणबारे एमाले अध्यक्ष केपी शर्मा ओलीसँग जवाफ माग गरेका छन् । मङ्गलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा सांसद दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीकै प्रस्तावमा एमाले–माओवादी केन्द्रको समीकरण बनेको भए पनि बिनाकारण समीकरण भत्काइएको बताए ।

 

उनले समीकरण सुरु गर्नुको उद्देश्य र भत्काउनुको कारणका बारेमा ओलीले प्रस्ट पार्नुपर्ने बताए । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको कार्यभार पूरा गरिरहेको अवस्थामा समीकरण तोड्नुको कारण के हो भनि प्रश्न गरे ।

 

धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति नर्गनाले वा बेचन झा र प्रतिक थापालाई पक्राउ गर्नाले समीकरण भत्काएको हो भनेर उनले प्रश्न गरे । चुनावी घोषणापत्रमा संविधान संशोधनको मुद्दा राखेको भए मात्रै संविधान संशोधन गर्न पाउने भन्दै सांसद दाहालले जनतालाई नझुक्याउन चेतावनी दिए ।

 

सांसद दाहालले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको लागि संविधान संशोधन गर्न सकिने बताए । उनले कांग्रेस र एमालेका बीचमा भएको भनिएको सहमतिलाई बदनियतपूर्ण र प्रतिगामी सहमति भएको टिप्पणी गरे ।

Share: