स्पेनले जित्यो युरो कप २०२४ को उपाधि

76
0
Share:

काठमान्डौ/स्पेनले चौथो पटक युरोकपको उपाधि जितेको छ । जर्मनीको बर्लिनमा भएको फाइनलमा इंग्ल्याण्डलाई २-१ ले पराजित गर्दै स्पेनले सर्वाधिक चौथो पटक युरो जित्ने कीर्तिमान बनाएको हो ।

 

खेल स्पेनले २–१ ले आफ्नो पक्षमा पार्‍यो । निर्धारित समयको खेल सकिन ४ मिनेट बाँकी छँदा मिकेल ओयार्जाबालले निर्णायक गोल गर्दै स्पेनलाई जित दिलाए । मार्क कुकुरेलाले उनलाई गोलको अवसर सिर्जना गरेका थिए ।

 

पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा तीन गोल भएको थियो । खेलको ४७औं मिनेटमा निको विलियम्सले गोल गर्दै स्पेनलाई पहिले अग्रता दिलाएका थिए । तर ७३औं मिनेटमा कोल पाल्मरले इंग्ल्याण्डका लागि बराबरी गोल फर्काए । निर्धारित समयमा खेल बराबरीतर्फ अघि बढिरहेको थियो बेला ८६औं मिनेटमा ओयाबाजलले गोल गर्दै स्पेनलाई २-१ को अग्रता दिलाए । त्यही अग्रता कायम राख्दै स्पेनले खेल जित्यो र चौथो पटक युरो च्याम्पियन बन्यो ।

 

स्पेनले सन् १९६४ को दोस्रो संस्करणमा पहिलो पटक उपाधि जितेको थियो भने सन् २००८ र २०१२ मा लगातार युरो जितेको थियो । स्पेन युरोको सर्वाधिक सफल टोली बनेको छ ।

 

इंग्ल्याण्ड भने लगातार दोस्रो पटक उपविजेतामै रोकिएको छ । यसअघि २०२१ मा भएको युरोको फाइनलमा इंग्ल्याण्ड घरेलु मैदानमै इटलीसँग पेनाल्टीसुटआउटमा पराजित भएको थियो ।

 

स्पेनले युरो २०२४ मा खेलेको सबै ७ खेल जित्यो । समूह चरणमा इंग्ल्याण्डले क्रोएसियालाई ३-० तथा इटली र अल्वानियालाई समान १-०ले पराजित गर्दै क्लिनसिट राखेको थियो । यस्तै अन्तिम १६ मा युरोको नवप्रवेशी जर्जियालाई ४-१ ले पराजित गरेको स्पेनले क्वाटरफाइनलमा आयोजक जर्मनी, सेमिफाइनलमा फ्रान्स तथा फाइनलमा इंग्ल्याण्डलाई समान २-१ को नतिजामा पराजित गरेको हो । स्पेनले प्रतियोगिताभर कुल १५ गोल गर्दा ४ गोल बेहोरेको थियो ।

Share: