Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
अधिकांश विद्यालयमा शिक्षक दरबन्दी न्यून – Lekhanpeeth

अधिकांश विद्यालयमा शिक्षक दरबन्दी न्यून

Share:

काठमान्डौ/सर्लाहीका अधिकांश विद्यालयमा न्यूनतम शिक्षक दरबन्दीसमेत अभाव हुँदा पठनपाठन प्रभावित भएको छ । जिल्लाका अधिकांश विद्यालयमा न्यूनतम आवश्यकताभन्दा पनि धेरै कम शिक्षक दरबन्दी रहेको छ ।

 

दरबन्दीअनुसार शिक्षक दरबन्दी पर्याप्त नभएका कारण ५ कक्षासम्मका विद्यार्थीलाई दुई शिक्षकशिक्षिकाले पढाउनु परेको गोडैता नगरपालिका–२, जयपुरमा रहेको जनता आधारभूत विद्यालयका प्रधानाध्यापक गर्बु महतोले बताए ।

 

शिक्षा विकास तथा समन्वय इकाइका अनुसार शिक्षकको दरबन्दी न्यूनतम आवश्यकताको पनि आधाभन्दा कम रहेको पाइएको हो । यस जिल्लामा चार सय ४७ वटा सामुदायिक, एक सय ९८ वटा संस्थागत र ७२ वटा धार्मिक विद्यालय सञ्चालनमा रहेको शिक्षा विकास तथा समन्वय इकाइ सर्लाहीका प्रमुख तारापति खरेलले जानकारी दिए ।

 

जिल्लामा सङ्कलित विद्यालय र त्यसमा अध्ययनरत छात्रछात्राको अनुपातमा शिक्षक दरबन्दी निकै कम रहेको तथ्याङ्कले देखाएको छ । विद्यार्थी र विद्यालयको अनुपातमा कम्तीमा जिल्लामा दुवै प्रक्रियाबाट न्यूनतम पाँच हजार तीन सय २७ वटा शिक्षक दरबन्दी आवश्यक रहेको कार्यालय प्रमुख खरेलले बताए। शिक्षक दरबन्दी अभावका कारण जिल्लामा अधिकांश विद्यालय सङ्कटमा परेका उनको भनाइ छ । आन्तरिक स्रोत जुटाउन सक्ने केही पालिकाले शिक्षक राखेका छन् ।

 

जिल्लामा प्राविधिक धारतर्फ भने शिक्षक दरबन्दी आवश्यकताअनुसार नै रहेको उनले बताए । पशु विज्ञान, बाली विज्ञान, कम्प्युटर, सिभिल इन्जिनियरिङ गरेर जिल्लामा नौ वटा प्राविधिक धारतर्फका विद्यालयहरू छन् । त्यसका लागि ७३ वटा शिक्षक दरबन्दी रहेको छ । शिक्षक पर्याप्त नभएका कारण पठनपाठन प्रभावित हुने गरेको हरिपुर्वा नगरपालिकास्थित जनता माध्यामिक विद्यालयका छात्र रामविश्वास रायले गुनासो गरे। “विद्यालयमा सधैँ शिक्षक अभाव हुन्छन् । हामीले किताब पढ्नै नपाई परीक्षा दिनुपरेको छ”, उनले भने ।

 

यस्तै, सुस्त श्रवण पाँच, सुस्त मनस्थिति तीन र दृष्टिविहीनका लागि एक विद्यालय सञ्चालन भइरहेका हुन् । दश वटा माविमा नमूना कार्यक्रम सञ्चालन भइरहेको शिक्षा समन्वय कार्यालय मलङ्गवाका प्राविधिक सहायक सुनिलप्रसाद कुशवाहले जानकारी दिए । २०५८ सालमा कायम भएको स्वीकृत शिक्षक दरबन्दी र २०६७ सालमा कायम राहत अनुदान शिक्षक दरबन्दीकै भरमा विद्यालयमा पठनपाठन गराउनु परिरहेको बागमती नगरपालिका–२, घरहरामा रहेको जनबाल कल्याण माविका प्रधानाध्यापक प्रकाशबहादुर जिम्बाको भनाइ छ । त्यसयता विद्यालयको स्तर उन्नति तथा विद्यार्थीको अनुपातमा भएको वृद्धिका कारण थोरै दरबन्दीमा पठनपाठन सकसपूर्ण भएको उनले बताए।

 

तीनवटै सरकार शिक्षा क्षेत्रमा भएको समस्या समाधानमा उदासीन देखिएका शिक्षासेवी तथा नागरिक समाजका अगुवा उग्रकान्त मिश्रको दाबी छ । बालबालिकाले न्यूनतम मात्रामा शिक्षक समेत नपाउनु विडम्बना भएको उनको भनाइ छ । जिल्लामा सबै तहका गरी एक लाख ३४ हजार सात सय ९९ छात्रा र एक लाख ४२ हजार पाँच सय ६१ जना छात्र गरी कूल दुई लाख ७७ हजार तीन सय ६० जना छात्रछात्रा अध्ययनरत छन् । तराईका जिल्लामा प्राविमा प्रतिशिक्षक ५० जना र मावि तहमा प्रतिशिक्षक अधिकतम ४० जना विद्यार्थी रहने सङ्घीय शिक्षा ऐनमा उल्लेख छ ।

Share: