Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
मकै बेचेर जीवन निर्वाह – Lekhanpeeth

मकै बेचेर जीवन निर्वाह

172
0
Share:

काठमान्डौ/इटहरी उपमहानगरपालिका-६ काफुलमति राजवंशीको दैनिकी मकै पोलेर बित्ने गरेको छ । दिनभर अरूको मजदुरी गर्नु भन्दा मकै पोलेर बिक्री गर्दा मनग्य आम्दानी हुने गरेको उनले बताइन् । राजवंशी मोरङ र झापाको विभिन्न ठाउँबाट मकैबारी नै ठेक्का हालेर खरिद गरेर ल्याई बिक्री गर्ने गरेको बताउँछन् ।

 

दिनभर इटहरीस्थित राधा कृष्ण मन्दिर नजिकैको सडक पेटीमा मकै पोल्दै बेच्नमा राजवंशी व्यस्त हुन्छिन् । उनले पोलेको सानो मकै घोगा रु. २० र ठूलो मकै रु. ४० सम्ममा बिक्री गर्दै आएकी छन् । उनले भनिन् “विगत २० वर्षदेखि मकै पोलेर बेच्दै आएकी छु, बाँकी अरु केही गरेर खानलाई सीप छैन, त्यत्ति धेरै पढ्न पनि सकिएन आफ्नै खेतीपाती गर्न जग्गा छैन, यसरी नै अरूको बारीबाट मकै खरिद गर्दै बेच्ने गरेकी छु ।” दिनमा मकै बेचेर रु. एक हजार पाँच सयदेखि रु. दुई हजारसम्म कमाई हुने गरेको राजवंशीले बताइन् । “महिनामा रु. ३० हजारदेखि रु. ४० हजारसम्म कमाई हुन्छ”, उनले भनिन् ।

 

इटहरी-२ की पार्वती चौधरी तीन वर्षदेखि मकै पोलेर बिक्री गर्दै आएकी छन् । उनले भनिन् “बेमौसममा भने काँचो मकै खरिद गर्न अलिक समस्या पर्छ, बारीमै ठेक्का हान्न सकियो भने धेरै नाफा हुन्छ । तर म ठेक्का हाल्दिनँ, घोगाकै हिसाबले खरिद गरेर बिक्री गर्ने गरेकी छु ।”

 

मकै प्रतिघोगा रु. १० देखि रु. १५ मा खरिद गरेर रु. २० देखि रु. ३५ सम्ममा बिक्री गर्ने गरेको चौधरीले बताइन् । फुर्सदको समयमा उनले बिहान जंगल गएर दाउरा संकलन गरेर ल्याई बिक्री गर्ने गरेको बताइन् । उनले भनिन् “बिहान दाउरा खोज्न जान्छु, जंगलबाट दाउरा खोजेर ल्याएर बिक्री गर्छु । बिहानभर दाउरा खोज्छु, दिउँसोदेखि साँझसम्म मकै पोलेर बेच्ने गर्छु । महिनामा रु. ३० हजारदेखि रु. ४० हजारसम्म कमाइ हुन्छ, यसैबाट घर खर्च चलाउने गरेकी छु ।”

 

इटहरी-६ की संगीता मण्डलले पनि दिदीले मकै बेच्ने गरेको देखेर आफूले पनि बेच्न सुरु गरेको बताइन् । उनले दिनभर इटहरीका मुख्य बजार छेउको गल्लीमा मकै पोलेर राम्रै आम्दानी गरिरहेकी छन् । मण्डलले भनिन् “अरु व्यापार गर्नुभन्दा यही राम्रो र सहज छ ।” महिनामा रु. २० हजारसम्म पोलेको मकै बेचेर आम्दानी गर्ने गरेको उनले बताइन् । इटहरी बजारको विभिन्न ठाउँ र गल्लीमा बसेर मकै पोलेर जीविका निर्वाह गर्नेहरू धेरै भेटिन्छन् । पुरुष भन्दा मकै पोलेर बिक्री गर्ने महिला बढी छन् । उनीहरूको घर व्यवहार मकै बेचेको आम्दानीले चल्ने गरेको छ ।

Share: