Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
नवलपरासी आलुमा आत्मनिर्भर – Lekhanpeeth

नवलपरासी आलुमा आत्मनिर्भर

182
0
Share:

काठमान्डौ/नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा यसवर्ष थप ११ हेक्टर क्षेत्रफलमा आलुखेती विस्तार भएको छ। किसान आलुखेती तर्फ आकर्षित हुँदा गत वर्षभन्दा यसवर्ष जिल्लामा आलुखेती थप ११ हेक्टर क्षेत्रफलमा विस्तार भएको हो। जिल्लामा यस वर्ष तीन हजार दुई सय १६ हेक्टर क्षेत्रफलमा आलुखेती भएको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिए।

 

“गत वर्ष तीन हजार दुई सय पाँच हेक्टरमा आलुखेती भएकोमा यो वर्ष ११ हेक्टर जमिनमा थप विस्तार भएको छ”, उनले भने, “गतवर्ष जिल्लामा ५८ हजार चार सय १३ मेट्रिक टन आलु उत्पादन भएको थियो।” जिल्लामा बर्सेनि आलु उत्पादन हुने क्षेत्र र उत्पादन बढ्दै गएपछि आलुमा आत्मनिर्भर बनेको उनको भनाई छ।

 

जिल्लामा व्यावसायिक आलुखेती गर्ने किसानको सङ्ख्या प्रत्येक वर्ष बढेको तथ्याङ्कमा देखिएको छ। “आलु उत्पादनका हिसाबले नवलपरासी (बर्दघाट सुस्तापूर्व) आत्मनिर्भर रहेको छ”, उनी भन्छन्, “यो वर्ष पनि समय अनुकूल छ, आलु उत्पादन राम्रो हुने अनुमान छ।”

 

कृषि ज्ञान केन्द्र नवलपुरका सूचना अधिकारी विश्वास काफ्लेका अनुसार यस वर्ष जिल्लामा गण्डकी प्रदेश सरकारले सञ्चालन गरेको समुदायस्तरमा प्रशोधन आलु प्रवर्द्धन कार्यक्रममार्फत ११ हेक्टर क्षेत्रफलमा खेती विस्तार भएको छ। क्षेत्रफलसँगै यस वर्ष आलु उत्पादन बढ्ने प्रारम्भिक अनुमान छ। कृषि ज्ञान केन्द्रसँगै स्थानीय तहले आलुखेती प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिरहेकाले आलुखेती विस्तार हुँदै गएको हो।

 

“जिल्लामा आलुखेती गर्ने किसानलाई थप प्रोत्साहन गरी उत्पादन बढाउने उद्देश्यले कृषि ज्ञान केन्द्रमार्फत मध्यबिन्दु र कावासोती नगरपालिका तथा हुप्सेकोट गाउँपालिकामा समुदायस्तरमा प्रशोधन आलु प्रवर्द्धन कार्यक्रम सञ्चालन गरेको छ”, उनले भने, “कृषि ज्ञान केन्द्रले किसान समूहमा आलुखेती प्रवर्द्धन कार्यक्रमलाई यो वर्ष पनि निरन्तरता दिएको छ।”

 

जिल्लाको कावासोती र मध्यबिन्दु नगरपालिका क्षेत्रमा आलु राम्रो उत्पादन हुने गरेको छ। सो क्षेत्रमा व्यावसायिक रूपमा आलु उत्पादन गर्ने किसान र कृषि समूहको सङ्ख्या उल्लेख्य रहेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी काफ्लेले जानकारी गराए।

 

नवलपरासी(बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी, हुप्सेकोट र बौदीकाली गाउँपालिका, कावासोती, मध्यबिन्दु, देवचुली र गैँडाकोट नगरपालिकामा व्यावसायिक आलुखेती गर्ने गरिएको छ। किसानले उत्पादन गरेको आलु स्थानीय बजारका साथै काठमाडौँ पनि जाने गरेको छ।

Share: