
काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा वित्तीय अवस्थामा सुधार गरेको छ । कम्पनीले बुधवार सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार कम्पनीले चालु आवको चैतसम्ममा ३२ करोड ४२ लाख ९६ हजार रुपैयाँ खुद नाफा गरेको छ ।
रिलायन्सले गत आर्थिक वर्षमा ५ करोड ३ लाख रुपैयाँ नाफा कमाएको थियो । तर चालु आर्थिक वर्षको ९ महिनामा कम्पनीले गत आर्थिक वर्षभर गरेको नाफाभन्दा साढे ६ गुणा बढी नाफा गरेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी (इपीएस) २५ रुपैयाँ ४९ पैसा पुगेको छ । यसअघि चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीको इपीएस २२ रुपैयाँ १९ पैसा र पहिलो त्रैमासमा १९ रुपैयाँ ९५ पैसा रहेको थियो ।
९ महिनामा रिलायन्स कम्पनीले ७ अर्ब ३९ करोड १७ लाख ३७ हजार रुपैयाँको व्यापार गरेको छ ।
वि.सं. २०५४ मा स्थापना भएको रिलायन्स स्पिनिङ्स मिल्स लिमिटेडले स्थापनाको २७ वर्षसम्ममा ४ हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिइरहेको छ ।