
काठमाडौं/चलचित्र ‘नाईँ नभन्नू ल ६’ वैशाख १ मा प्रदर्शनमा नहुने भएको छ । फिल्मविरुद्ध चलचित्र विकास बोर्डमा परेको मुद्दाका कारण चलचित्र विकास बोर्डले सेन्सर प्रक्रिया अगाडि नबढाएका कारण चलचित्रको प्रदर्शन रोकिएको निर्देशक विकास आचार्यले जनाएका छन् ।
फिल्मका निर्माता सञ्जय न्यौपानेविरुद्ध अर्की निर्माता शर्मिला पाण्डेले उजुरी दिएकी थिइन् । ‘प्रेम दिवस’ निर्माण गरेका सञ्जय न्यौपानेले शर्मिला पाण्डेसँग फिल्म रिलिजको समयमा पैसा लिएका थिए । फिल्म वितरण गर्न दिएवापत दिएको पैसा प्रदर्शनबाट नउठेपछि शर्मिलाले न्यौपानेसँग पैसाका लागि ताकेता गर्दै आइरहेकी थिइन् ।
निर्देशक विकास आचार्यले बोर्डले रोक्नै नहुने कुरा रोकेर दुःख दिएको गुनासो गरे । ‘हाम्रो फिल्मको निर्माता सञ्जय न्यौपाने होइन । व्यवहारिक रुपमा उहाँको नाम राखेको हो । फिल्म उहाँको ब्यानरबाट निर्माण भएको पनि हैन,’ उनले भने, ‘उहाँहरूले चेक दिँदा पनि मान्नु भएन । नाईँ नभन्नू ल ले चलाएको पैसा भए पो यसले तिर्ने दायित्व हुन्थ्यो । तर बोर्डले कुतर्क गरेर सेन्सर प्रक्रिया अगाडि बढाएन ।’
बोर्डले सेन्सर नदिएका कारण सोको बाँडफाँडसमेत भइसकेकाले अर्को मितिमा प्रदर्शनमा आउने जानकारी गराए । यसको मिति चाँडै सार्वजनिक गर्ने उनको भनाइ छ ।