
काठमान्डौ/निर्देशक नवीन सुब्बाको कमव्याक सिनेमा ‘गाउँ आएको बाटो’को पहिलो गीत रिलिज गरिएको छ । ‘राई माईला’ बोलको गीतमा श्रवण मुकारुङको शब्द रचना, काली प्रसाद बास्कोटाको संगीत तथा सुनिता थेगिमको स्वर सुन्न सकिन्छ ।
सिनेमाको सार्वजनिक गीतमा सिनेमाका मुख्य कलाकार दयाहाङ राई, पशुपति राई र बालकलाकार प्रसन राईलाई फिचर्ड गरिएको छ । यो गीतको भिडियोलाई निर्देशक सुरेन्द्र पौडेलले सम्पादन गरेका हुन् । सार्वजनिक गीतको अडियो तथा भिडियो उत्कृष्ट बनेको छ । गीतमा समावेश दृश्यले सिनेमाको कथासार बुझाउन सहयोग गर्ने निर्माण टिमको विश्वास छ ।
बाबुछोराको स्नेही सम्बन्ध र खुसी त्यतिबेला संकटमा पर्छ, जतिबेला गाउँमा मोटर आइपुग्छ । योसँगै छोरा बिन्द्रे (प्रसन राई)र उसको बाबु माइला (दयाहाङ) वरपर सिनेमाको कथा घुम्छ । सडकसँगै गाउँ आउने स्मार्टफोन, सनग्लास, टेलिभिजन, हिपहप संगीतले गाउँको मानवीय सम्बन्ध र सोचाइमा ल्याउने परिवर्तन तथा सडक र गाडी पुगेपछि परेको असरको कथा सिनेमाले भनेको छ ।