
काठमान्डौ/काठमाडौं जिल्ला अदालतले पूर्व गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले उनलाई प्रहरीको जिम्मा लगाउने आदेश गरेको हो ।
लामिछानेलाई जिल्ला प्रहरी परिसर, काठमाडौँको हिरासतमा राख्ने तयारी गरिएको स्रोतले बतायो । उनका कानुन व्यवसायीहरूले हिरासतमा नपठाएर आफ्नो वा परिवारको जिम्मा छाड्न माग गरेका थिए । तर, न्यायाधीशले प्रहरीको जिम्मा लगाउन आदेश दिए ।
आइतबार बिहान अदालतमा हाजिर भएका लामिछानेको बयान आजै सकिएको हो । उनको बयान सकिएपछि थुनछेक बहसको तयारी भएको थियो । तर, सरकारी वकिलहरूले समय मागेपछि आज थुनछेक बहस हुन सकेन ।
काठमाडौंको स्वर्णलक्ष्मी सहकारी प्रकरणको अनुसन्धानका लागि उनलाई प्रतिवादी बनाइ मुद्दा दर्ता गरिएको छ । यसअघि पोखराको सूर्य दर्शन सहकारी ठगी प्रकरणमा ८३ दिनको अनुसन्धान तथा थुनछेक बहसपछि अदालतले लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।