
काठमान्डौ/लामो प्रयासपछि इजरायल र हमासबीच बहुप्रतिक्षित युद्धविराम गर्ने तथा बन्धक छाड्ने सहमति भएको छ । यससँगै १५ महिनादेखि जारी युद्ध अन्त्य हुने आशा बढेको छ ।
सम्झौताका लागि कतार र अमेरिकाले मध्यस्थता गरेका थिए । कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल-थानीले युद्धविराम आइतबारबाट कार्यान्वयनमा आउने र त्यसबेलासम्म इजरायली मन्त्रिपरिषदबाट यो स्वीकृत हुने तालिका रहेको बताएका छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडनले सम्झौताको पुष्टि गर्दै त्यसमा पूरा र सम्पूर्ण युद्धविराम, गाजाबाट इजरायली फौज फिर्ता र हमाससँग भएका सबै बन्धकको रिहा समेटिएको जनाएका छन् । ६ साता लामो हुने युद्धविरामको पहिलो चरणमा केही इजरायली बन्धक छाडिनेछ । त्यसको साटो इजरायलले प्यालेस्टिनी बन्दीसमेत छाड्ने र केही क्षेत्रबाट इजरायली फौज फिर्ता हुनेछ ।
सन् २०२३ को अक्टोबर ७ मा हमासले दक्षिण इजरायलमा गरेको अप्रत्याशित हमलामा १ हजार २ सय जनाको मृत्यु हुनुका साथै २५१ जना बन्धक बनाइएका थिए । त्यसपछि हमासविरुद्ध इजरायलले सुरु गरेको प्रत्याक्रमणमा गाजामा ४७ हजारभन्दा बढी मानिस मारिएका हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ।