Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
एनएमबिसहित ४ बैंकले लाप्चे तामाकोशी जलविद्युत् आयोजनामा ५.२५ अर्ब ऋण लगानी गर्ने – Lekhanpeeth

एनएमबिसहित ४ बैंकले लाप्चे तामाकोशी जलविद्युत् आयोजनामा ५.२५ अर्ब ऋण लगानी गर्ने

120
0
Share:

काठमाडौं । दोलखाको विगु गाउँपालिकामा अवस्थित लाप्चे तामाकोशी जलविद्युत् आयोजनाका लागि वित्तीय व्यवस्थापन भएको छ । आयोजनामा एनएमबि बैंक, नबिल बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक र एभरेष्ट बैंकले ऋण लगानी गर्ने भएका हुन् ।

एनएमबि बैंकको नेतृत्वमा बैंकहरूले आयोजनामा लगानी गर्न लागेका हुन् । ४२ मेगावाट क्षमता रहेको लाप्चे तामाकोशी जलविद्युत् आयोजनाको लागत करिब ७ अर्ब रुपैयाँ अनुमान गरिएको छ ।

आयोजनामा बैंक तथा वित्तीय संस्थाहरूको ऋण लगानी ५ अर्ब २५ करोड रुपैयाँ रहनेछ भने थप रकम प्रबर्धक डायनामिक हाइड्रो ईनर्जी प्रालिले जुटाउनेछ ।

एनएमबि बैंकका दिनेश दुलाल र डायनामिक हाइड्रो ईनर्जी प्रालिका अध्यक्ष मोहन बिक्रम कार्कीले ऋण सम्झौता पत्रमा हस्ताक्षर गरे । एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरे तथा कम्पनीको तर्फबाट अध्यक्ष मोहन बिक्रम कार्कीले ऋण सम्झौता पत्र आदान प्रदान गरे ।

सोही कार्यक्रममा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले एनएमबि बैंकमा हाइड्रोपावर परियोजनाको प्राविधिक पक्ष, वातावरणीय तथा पर्यावरणीय पक्ष तथा अन्य जोखिमको सुक्ष्म तरिकाले अध्ययन तथा निगरानी गरी सोको उचित समाधान दिने जानकारी दिए ।

साथै, मोहन बिक्रम कार्कीले एनएमबि बैंकसँग यस परियोजनासहित ८ वटा परियोजनाका लागि ऋण उपभोग गरिरहेको तथा यस परियोजना निर्धारित लागत तथा समयसीमामा सम्पन्न गर्ने प्रतिवद्धता जाहेर गरे ।

साथै, एनएमबि बैंकले एकल लगानीमा चेपे खोला क्यास्केड जलविद्युत् आयोजना (२ मेगावाट)को पनि वित्तीय व्यवस्थापन समापन गरेको छ। उक्त आयोजनाको अनुमानित लागत ४३ करोड ४० लाख रुपैयाँ रहेको छ । बैंकले आयोजनामा ३४ करोड रुपैयाँ ऋण लगानी गर्ने भएको छ ।

एनएमबि बैंकले हालसम्म ५० वटा भन्दा बढी जलविद्युत् आयोजनाहरूमा लगानी गरिसकेको छ ।

Share: